कांग्रेसले हिजोको घटनामा कमजोरी स्वीकार्नु पर्छ : महेश बर्तौला

सफल खबर संवाददाता

शुक्रबार, ०४ जेठ २०८१, १६ : ४६
कांग्रेसले हिजोको घटनामा कमजोरी स्वीकार्नु पर्छ : महेश बर्तौला

काठमाडौं । नेकपा एमालेले भोलिसम्ममा सहमति जुटेर आइतबारको सदन सुचारु हुने कुरामा सत्तापक्ष विश्वस्त रहेको जनाएको छ । पत्रकारसँग कुरा गर्दै नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले आज सहमतिको प्रयत्न धेरै गरेपनि संसद खुलाउन नसकिएको बताए ।

उनले भने, ‘कम्तीमा राष्ट्रपतिलाई धन्यवादलगायतका सामान्य कार्यसूचीमा प्रवेश गरियोस् भन्ने आग्रह गर्दा प्रमुख प्रतिपक्षीको हठ कायमै भयो । थप छलफल होस् भन्ने प्रमुख प्रतिपक्षीको आग्रहपछि बेलुका बेलुका बोलाइएको छ । सहमति गरेर भोलिसम्ममा निकास खोज्ने र पर्सिदेखि सुचारु गर्ने गरी लागेका छौं ।’

हिजो सदनमा भएको घटनाको विषयमा सभामुखमार्फत कांग्रेसको ध्यानाकर्षण गराएको उनले सुनाए । बर्तौलाले थपे, हामी मुठभेड चाहँदैनौं । संसदलाई व्यवस्थित ढंगबाट अघि बढाउन चाहन्छौं । हिजोको घटना नेपालकै संसदीय इतिहासमा असाध्यै दु:खद घटना हो । सभामुखको उपस्थितिमा प्रमुख प्रतिपक्षका नेतालाई औपचारिकरूपमा ध्यानाकर्षण गरायौं । यो तपाईँहरूले रियलाइज गरेर कमजोरी भएको स्वीकार्नुपर्छ । आइन्दा यस्ता गल्ती नदोहोर्‍याउने प्रतिवद्धता व्यक्ति गर्नुपर्छ भन्यौं ।’

आफूहरू देशभर समस्यामा रहेका सहकारीको छानबिन, सहकारी ठगहरूमाथि कारबाही, बचतकर्ताको रकम फिर्ता गराउने सवालमा संवेदनशील रहेको उनले बताए । बर्तौलाले भने, ‘गृहमन्त्रीमाथि किन आरोप लगायौ भन्दैनौं । तर, आरोप लागेपछि जवाफ चाहिँ सुन्नुपर्छ । भोलि अन्य तथ्य प्रमाणले दोषी करार भयो त्यो फरक पाटो हो ।’

प्रतिक्रिया दिनुहोस