चितवनमा आफै चढेको बसले ठक्कर दिँदा एक तीर्थयात्रीको मृत्यु

सफल खबर संवाददाता

विहीबार, १३ बैशाख २०८१, १० : ३२
चितवनमा आफै चढेको बसले ठक्कर दिँदा एक तीर्थयात्रीको मृत्यु

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकामा आफै चढेर ओर्लिएको बसले ठक्कर दिँदा एक तीर्थयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–२ गड्यौली बस्ने ६० वर्षीय निमा कुमारी रिजाल रहेकी छन् ।

आज बिहान ७ बजेको समयमा राप्ती–२ गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको चतराधाम तीर्थ गएर आएको बागमती प्रदेश-०३–००१ ख २७५३ नम्बरको बसमा सवार रिजाललाई ओर्लिने क्रममा सोहि बसले ठक्कर दिएको हो ।

बसको ठक्करबाट गम्भिर घाइते भएकी रिजालको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा बिहान ७ः५० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।

ठक्कर दिने बस र बस चालक मकवानपुर हेटौडा उपमहानगरपालिका–१८ बस्ने बर्ष ४१ को कृष्ण सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस