बुटवल उपमहानगरले सञ्चालनमा ल्यायो चार भाषाका नागरिक बडापत्र

सफल खबर संवाददाता

मंगलबार, ११ बैशाख २०८१, १४ : ४५
बुटवल उपमहानगरले सञ्चालनमा ल्यायो चार भाषाका नागरिक बडापत्र

बुटवल। रुपन्देहीको बुटवल उपमहानगरपालिकाले चार भाषामा नागरिक बडापत्र सञ्चालनमा ल्याएको छ ।कार्यालयमा सेवा लिन आउने विभिन्न भाषाभाषीका सेवाग्राहीको सहजताका लागि बुटवल उपमहानगरपालिकाले मंगलवारदेखि नेपालीसहित, थारू, मगर र नेपाल (नेवारी) भाषामा बडापत्र सञ्चालनमा ल्याइएको हो ।

बुटवल उपमहानगरमा बसोबास गर्नेमध्ये जनसङ्ख्याको अनुपातका आधारमा ४ भाषामा तयार गरिएको नागरिक बडापत्र मंगलवार एक कार्यक्रमका बीच नगर प्रमुख खेलराज पाण्डेयले सार्वजनिक गरेका हुन् ।

 

कार्यक्रममा बोल्दै प्रमुख पाण्डेयले जनसङ्ख्याको आधारमा ४ भाषामा बडापत्र राखिएको र आगामी दिनमा अरु केही भाषाका बडापत्र राख्ने गरी तयारी भएको बताए ।

‘बुटवलमा बोलिने र चलनचल्तीमा रहेका भाषाहरू र अन्यत्रका भाषाहरूमा मेल नखान सक्छ भन्ने विज्ञहरूको सल्लाहअनुसार हामीले बुटवलको चलनचल्तीअनुसार नै प्रयोगमा आउने बडापत्र बनाएका छौं', उनले भने, ‘यसमा विज्ञहरूले केही सुधार गर्नुपर्ने र थप्नुपर्ने भएमा हामीलाई सुझाव दिनुहोला, समयानुकूल परिमार्जन गर्दै लगिन्छ ।’

कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलले सबै जाति, भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले ४ भाषामा बडापत्र तयार गरिएको बताइन् ।

राष्ट्रिय जनगणना २०७८ अनुसार बुटवल उपमहानगरपालिकामा नेपाली भाषा बोल्ने ७८.७, मगर भाषा बोल्ने ६.८ नेपाल भाषा बोल्ने ३ र थारू भाषा बोल्ने ४.९ प्रतिशत जनसंख्या रहेको छ । बडापत्रको प्रयोगले सेवाग्राहीले आफ्नो कामको सम्बन्धमा सम्पूर्ण जानकारी सजिलै प्राप्त गर्नेछन् ।

आफूले प्राप्त गर्न खोजेको सेवा सो बडापत्रमा हेरेपछि त्यसका लागि आवश्यक कागजपत्र, दस्तुर तथा सेवा लिन प्रयोग गर्नुपर्ने सम्पूर्ण जानकारी थाहा पाउन सकिन्छ ।

सो कामका लागि जानुपर्ने कोठा तथा त्यस कोठामा रहेका कर्मचारीको विवरणसमेत सोही बडापत्रमा हेर्न सकिने छ। कार्यालयमा आउने कुनै पनि सेवाग्राहीले आफ्नो कामको बारेमा जानकारी लिन कसैलाई सोध्नु नपर्ने गरी नागरिक बडापत्र राख्नुपर्ने ऐनको व्यवस्था छ ।

बडापत्रलाई पुस्तकका रुपमा प्रकाशन गरिएको र छिट्टै नै डिजिटल रुपमा सबै वडाहरूमा राख्ने गरी तयारी भएको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस