झापामा तीन लाख बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइँदै

सफल खबर संवाददाता

बुधबार, १६ फागुन २०८०, ०८ : ०६
झापामा तीन लाख बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइँदै

काठमाडौ । झापामा तीन लाखभन्दा बढी बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने भएको छ । दादुरा–रुबेला खोप अभियानअन्तर्गत जिल्लामा यही फागुन १७ गतेदेखि चैत ४ गतेसम्म नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप लगाइने भएको हो । 

स्वास्थ्य कार्यालय झापाले आज बिर्तामोडमा दादुरा–रुबेला खोप अभियानका बारेमा सञ्चारकर्मीसँग अभिमुखीकरण गोष्ठीसमेत गरेको छ । स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख रमेश बाराकोटीले झापामा खोप लगाउने दर उच्च भए पनि दादुरा–रुबेलाको जोखिम कायमै रहेकाले अभियान सञ्चालन हुन लागेको बताए । 

जिल्लाव्यापी खोप अभियानका लागि यहाँ स्वास्थ्य संस्थाबाहेक नौ सय ४७ खोप केन्द्र निधारण गरिएका छन् । अभियानमा तीन ६९ खोपकर्मी र एक हजार सात सय १७ स्वास्थ्य स्वयंसेविका परिचालन गरिने कार्यालयका खोप अधिकृत राजकुमार पोखरेलले जानकारी दिए । खोप अभियान सञ्चालन गर्न दुई लाख ७० हजार थान खोपको व्यवस्था गरिएको छ । 

अभिमुखीकरण गोष्ठीमा विश्व स्वास्थ्य सङ्गठनकी डा सङ्गीता शाहले ज्वरो आएको बेलामा खोप लगाउन नमिल्ने भए पनि ज्वरो निको भएपछि खोप लगाउन सकिने बताइन् । 

झापामा सन् २०१९ र २०२३ मा अभियान सफल भएकाले पुनः खोप अभियान सञ्चालन गरिएको हो । सरकारले सन् २०२६ सम्ममा नेपालबाट दादुरा–रुबेला उन्मुलन गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस