हिन्दूराष्ट्र अभियानका नेता देउवा निवासमा, औपचारिक प्रस्ताव ल्याउने प्रयास

सफल खबर संवाददाता

बुधबार, ०९ फागुन २०८०, १० : ४०
हिन्दूराष्ट्र अभियानका नेता देउवा निवासमा, औपचारिक प्रस्ताव ल्याउने प्रयास

काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठकमा वैदिक सनातन हिन्दूराष्ट्र स्थापना अभियान सञ्चालन गरिरहेका नेताहरू सभापति शेरबहादुर देउवाको निवास पुगेका छन्। अभियानको प्रस्तावलाई औपचारिक रूपमै महासमिति बैठकमा प्रस्तुत गर्न पाउनुपर्ने उनीहरूको माग रहेको छ । यसै विषयमा छलफल गर्न सभापति देउवासँग समय लिएर भेट्न गएको अभियानका सदस्य लोकेश ढकालले बताए ।

अभियानले हालसम्म ८ सय पचास महासमिति सदस्यहरूको हस्ताक्षर जुटाइसकेको नेता ढकालले बताए । हजार सदस्यहरूको हस्ताक्षर जुटाउने उनीहरूको लक्ष्य रहेको छ । बहुमत सदस्यहरूको हस्ताक्षर जुट्न सकेमा औपचारिक प्रस्तावका रूपमा अभियानको एजेन्डा महासमितिमा प्रवेश गराउने अभियन्ताहरूको रणनीति देखिन्छ ।

यो अभियानलाई नेपाली कांग्रेसकै जनजाति, मुस्लिम भ्रातृ संगठन र केही शीर्ष नेताहरूले असहयोग गरिरहेको अभियानका सदस्यको भनाई छ ।हिजो मंगलबार मात्र पूर्वमहामन्त्री एवं केन्द्रीयसदस्य डा।सशांक कोइराला र पूर्वसभामुख एवं पूर्वमहामन्त्री तारानाथ रानाभाटले पनि हस्ताक्षर गरिसकेका छन् ।

कांग्रेसको केन्द्रीय समिति बैठकमा २२ जना केन्द्रीय सदस्यहरूले हिन्दु राष्ट्रका पक्षमा २०८० फागुन ४ गते लिखित  प्रस्ताव गरेका थिए । महासमिति बैठकमा हिन्दु राष्ट्रका बारेमा प्रतिनिधिहरूले व्यक्तिगत धारणा राख्ने जनाएका छन् ।

कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको संयोजकत्वमा ‘गणतान्त्रिक, वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र’ महाअभियान अन्तर्गत हस्ताक्षर संकलन गरिएको हो । अभियानका संयोजक शंकर भण्डारीले मुलुक र धर्म सँगसँगै रहने भएकाले आफूहरू सनातन वैदिक धर्म सापेक्ष हिन्दु राष्ट्रको पक्षमा रहेको स्पष्ट पारे ।

नेपालको संविधान २०७२ जारी गर्दाका बखत गरिएको जनमत संकलनमा ८० प्रतिशत नागरिकले हिन्दु राष्ट्रको माग गरेको भएपनि त्यसको विरुद्धमा संविधानमा धर्म निरपेक्ष राष्ट्र लखिएको भन्दै भण्डारीले आपत्ति पनि जनाए । 

गौतम बुद्ध जस्ता महान् व्यक्तित्व जन्मेको हिमालय मुलुक हरेक क्षेत्रमा कमजोर भइरहेको बताउँदै देशको स्वाधीनता र स्वाभिमानसँगसँगै लाने नेपाली कांग्रेस र सरकारले गम्भीर छलफल गर्नुपर्ने बेला भएको नेता भण्डारीको भनाइ छ ।

महासमिति बैठकको उद्घाटन सत्रको शुभारम्भसँगै महासमिति सदस्यहरूले बैठकको सभा हल अगाडी ‘धर्मनिरपेक्ष राष्ट्र खारेज गरेर धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन  हिन्दुराष्ट्र नेपाल’को पक्षमा हस्ताक्षर अभियान जारी राखेका छन् । 

प्रतिक्रिया दिनुहोस