सन्दर्भ : विश्व आत्महत्या रोकथाम दिवस

मुड नियन्त्रण नहुँदा भकाभक आत्महत्या

सफल खबर संवाददाता

सोमबार, २५ भदौ २०७५, १६ : ०६
मुड नियन्त्रण नहुँदा भकाभक आत्महत्या

चितवन । चितवनमा आत्महत्याको भयानक रुप आगो झै सल्कँदै गएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, चालु आर्थिक वर्षको साउनमा ९ जनाले आत्महत्या गरेका छन् । जसमा ५ जना पुरुष, ३ जना महिला र १ जना बालकले आत्महत्या गरेका छन् । 
२०७४÷७५ मा चितवनमा १ सय ३९ जनाले आत्महत्या गरेका थिए । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले चितवनमा आत्महत्या गर्ने क्रम दिनानुदिन बढिरहेको बताए । उनका अनुसार २०७४÷७५ मा झुन्डिएर सय जना, विष खाएर ३६ जना, हाम्फालेर ३ जनाले आत्महत्या गरेका छन् । ‘जसमा ८२ पुरुष, ४९ महिला, ३ बालक र ५ बालिका छन् ।’ उनले भने, ‘आत्महत्या गर्नेमा १६ देखि ३५ उमेरका धेरै छन् ।’ 
जिल्ला प्रहरी कार्यालयले दिएको तथ्यांक अनुसार आव २०७३÷७४ मा चितवनमा १४७ जनाले आत्महत्या गरेका छन् । ८५ पुरुष, ५७ महिला, बालक १ र बालिका ४ जनाले आत्महत्या गरेका छन् । ‘२०७३÷७४ को तुलनमा २०७४÷७५ मा केही घटेको छ, तर यो तथ्यांक आत्महत्याको लागि भयानक रुप हो’ प्रहरी प्रमुख सुशीलसिंह राठौरले भने । 
जिल्ला प्रहरी कार्यालय चितवनअनुसार आर्थिक वर्ष ०७२ साउन देखि ०७३ असारसम्म १२६ जनाले आत्महत्या गरेका छन् । ८५ जनाले झण्डिएर, ३७ जनाले विष सेवन गरेर, तीनजनाले हामफालेर तथा एकजनाले करेन्ट लगाएर आत्महत्या गरेका छन् । 
आत्महत्या गर्नेमा महिलाको दाँजोमा पुरुषको संख्या बढी भए पनि आत्महत्याको प्रयास गर्नेहरूमा चाहीँ महिलाको दर पुरुषको भन्दा झन्डै चार गुणा बढी देखिन्छ । २०७२ साउन देखि २०७३ असारसम्ममा ६५ पुरुष र ५८ महिलाले आत्महत्या गरेका छन् । दुई बालक र एक बालिकाले पनि यही अवधिमा आत्महत्या गरेका छन् । 
आत्महत्या गर्नुको मुख्य कारण भने सबैको समान देखिँदैन । कसैले घरायसी तनावको कारण, कसैले सम्बन्धविच्छेदका कारण, आर्थिक समस्याका कारण आत्महत्या गर्न खोज्छन् भने कसैले अन्य कारणबाट आत्महत्या गर्न खोज्छन् । 
बढ्दो उमेरसँगै आत्महत्याको सम्भावना पनि बढ्दै गएको देखिन्छ । पुरुषमा ४५ वर्षको उमेरपछि उक्त सम्भावना बढ्दै जान्छ भने महिलामा ५५ वर्षको उमेरपछि सम्भावना बढ्दै गएको तथ्यांक छ । तर, आजकल आत्महत्याका घटना किशोरकिशोरी उमेर समूहमा पनि बढेको पाइन्छ । बालबालिकाबाट पनि आत्महत्या भइरहेका छन् । 
एक तथ्यांक अनुसार नेपालमा हरेक दिन एक जनाले आत्महत्या गर्छन् । अनुसन्धानले ९० प्रतिशतभन्दा बढी आत्महत्याको प्रमुख कारण मनोरोग देखाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आर्थिक, निराश, प्रेममा असफल, पारिवारिक कलहका कारणले आत्महत्या भइरहेको छ । 

आत्महत्याका दुई कारण  
भरतपुर अस्पतालका मनोरोग विभागका विभागीय प्रमुख  डा. सुनिलकुमार शाहले योजना बनाएर र ब्यक्तिगत समस्या (झोंक) का भरमा आत्महत्या हुने गरेको बताए । डा. शाहले भने, ‘मेरो समस्याको अब कुनै पनि समाधान छैन, म हरेक रुपमा फेल भैसकेँ, बाँचेर केही गर्नु छैन, सबै उस्तै त हुन् नि, बाँचेर पो के भयो र ? भनेर आत्महत्या गरेका छन् ।’ उनका अनुसार हप्तौ, महिना, बर्षौदेखिको पालना गरेर आत्महत्या गर्ने एकाथरि छन् भने अर्कोथरि ब्यक्तिगत समस्या अर्थात् झोंकको भरमा लहडमा आत्महत्याको निर्णय गरिहाल्ने खालका हुन्छन् । 
कुनै पनि समस्या पर्दा सहन नसकी तत्कालै निर्णय गरेर आत्महत्याको प्रयास गर्ने पनि रहेका उनी बताउँछन् । एकपटक आत्महत्याको प्रयास गरेपछि पटक पटक उसले आत्महत्याको प्रयास गर्ने चिकित्सक डा. शाहले बताए । 
‘बंशाणुगत कारण पनि आत्महत्या हुने गर्दछ । परिवारका कुनै सदस्यले आत्महत्या गरेको छ भने, उसैको अर्को सदस्यले पनि केही समयको अन्तरालमा आत्महत्या गर्दछ’ उनी भन्छन् । आत्महत्या गर्ने व्यक्तिहरुको ढाडबाट पानी निकालेर चेक गर्दा सेरोटोनिन् लेभल कम भएको देखिएको चिकित्सक डा. शाहले जानकारी दिए । 
‘सेरोटोनिन् भन्नाले न्युरोट्रान्समोटरको कमिको कारणले गर्दा यस्तो अवस्था आएको देखिएको छ’ मनोरोग बिषेशज्ञ डा. शाहले भने, ‘सेरोटोनिन् भन्ने हर्मोनले दिमागी सन्तुलन अर्थात् मुडलाई नियन्त्रण गर्ने गर्दछ ।’ मनसिक रोगीप्रतिको समाजमा रहेको गलत धारणाका कारणले गर्दा पनि आत्महत्याका घटनाहरु बढेको देखिन्छ । 
डा. शाहले भने, ‘१०० जना मानसिक रोगीमा ९८ जनामा सामान्य मानसिक समस्या अर्थात् नियन्त्रण गर्न सक्ने समस्या हुन्छ भने, २ देखि ५ प्रतिसम्ममा मात्रै कडा लक्षण देखिन्छ । ९८ प्रतिशतलाई समस्या भएको भएपनि बाहिर देखाउन चाहादैनन् । अरुले नराम्रो दृष्टिकोणबाट हेर्छन् भन्ने डर देखिन्छ, जुन आफैमा एक समस्या हो ।’

४० सेकेन्डमा एक जनाको आत्महत्या 
विश्वमा हरेक ४० सेकेण्डमा एक जना मानिसले आत्महत्या गर्ने गरेका छन् । नेपाल आत्महत्या गर्ने मुलुकको आठौं नम्बरमा छ । संयुक्त राष्ट्रसंघको तथ्यांक अनुसार विश्वमा हरेक वर्ष ८ लाखले आत्महत्या गर्छन् । भारतमा मात्रै एक वर्षमै २ लाख ५८ हजार ५७ जनाले आत्महत्या गरे । नेपालमा एक वर्षमा ५ हजार ५ सय ७२ जनाले आत्महत्या गरेका छन् ।
यसरी आत्महत्या गर्नेमा महिलाहरुभन्दा पुरुष बढी छन् । नेपालमा पनि आत्महत्या गर्नेमा महिलाभन्दा पुरुषहरु नै बढी छन् । ७० वर्ष कटेकाहरुमा बढी यो समस्या देखिएको छ ।
विश्वमा आत्महत्या सम्बन्धी उदेकलाग्दा तथ्यहरु भेटिएका छन् । स्वीटजरल्याण्डमा आत्महत्यामा सहयोग गर्ने र आत्महत्या गर्न पाउनुपर्ने 
(राइट टु डाइ)को वकालत गर्ने संस्थासमेत छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा आत्महत्याका कारण मर्ने मानिसको संख्या द्वन्द्व र प्राकृतिक प्रकोपका कारण ज्यान गुमाउनेको संख्याभन्दा बढी छ ।
विश्वमा हरेक वर्ष अकालमा ज्यान गुमाउने १५ लाख मानिसमध्ये आधाजसोले आत्महत्या गर्ने गरेको संगठनले जनाएको छ ।
विश्वमा हुने आत्महत्या सम्बन्धी पहिलो विस्तृत अध्यनन प्रतिवेदन तयार पारेको विश्व स्वास्थ्य संगठनले जेनेभामा एक कार्यक्रमबीच उक्त प्रतिवेदन सार्वजनिक गरेको छ । पछिल्लो एक दशकमा विश्वका १ सय ७२ देशको आत्महत्याको तथ्याङ्क विश्लेषण  गरी यो प्रतिवेदन तयार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस