सरकारले सूचना र प्रविधिसम्बन्धी कानूनको तयारी गरिरहेको छ : मन्त्री शर्मा

सफल खबर संवाददाता

विहीबार, २५ माघ २०८०, २० : १०
सरकारले सूचना र प्रविधिसम्बन्धी कानूनको तयारी गरिरहेको छ : मन्त्री शर्मा

काठमाडौँ ।​ सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सूचना र प्रविधि सम्बन्धी कानूनको तयारी गरिरहेको बताएकी छन्।​

बिहीवार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले सूचना र प्रविधिको विकासका लागि सरकार आवश्यक कानूनी, नीतिगत र संरचनात्मक विकासमा जुटेको बताइन्। उनले नेपालमा पहिलोपटक राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरी अहिले कार्यान्वयनमा ल्याइएको बताइन्। उनले कानूनसँगै राष्ट्रिय साइबर सुरक्षाकेन्द्र स्थापना, राष्ट्रिय सूचना प्रविधि केन्द्रको पुनर्संरचना लगायतका संरचनागत काम पनि अघि बढाउन खोजिरहेको बताइन्।

मन्त्री शर्माले सूचना र प्रविधि क्षेत्रमा विकासका प्रयोग बढाउन, नवीन प्रविधिलाई आत्मसात गर्दै आविष्कार र नवप्रवर्धनमा जोड दिनुपर्ने बताइन्। उनले रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स, एआई जस्ता प्रविधिको आत्मसातीकरणका साथै आगामी दिनमा विकासमा नवीन प्रविधिका लागि पनि स्पष्ट र नीतिगत कानूनी र संरचनात्मक व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको बताइन्।

मन्त्री शर्माले भनिन्, ‘सूचना र प्रविधिको विकासका लागि सरकार आवश्यक कानूनी, नीतिगत र संरचनात्मक विकासमा जुटेको छ। नेपालमा पहिलोपटक राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरी अहिले कार्यान्वनमा ल्याइएको छ। डेटा सुरक्षा, साइबर सुरक्षा लगायतका क्षेत्र समेटेर सूचना र प्रविधिसम्बन्धी कानूनको तयारी गरिरहेका छौँ।’

मन्त्री शर्माले नेपालमा सूचना र प्रविधि अघिअघि र देशका कानून पछिपछि भइरहेको बताइन्।

प्रतिक्रिया दिनुहोस