सामाजिक सुरक्षा कोषले एकैपटक गर्‍यो ३२ स्थानीय तहसँग सम्झौता

सफल खबर संवाददाता

मंगलबार, ०९ माघ २०८०, १३ : ०३
सामाजिक सुरक्षा कोषले एकैपटक गर्‍यो ३२ स्थानीय तहसँग सम्झौता

काठमाडौं।  गण्डकी प्रदेशका ३२ वटा स्थानीय तह एकैपटक सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् ।शुक्रवार र शनिवार पोखरामा भएको 'स्थानीय तहसँग सामाजिक सुरक्षा कोष' कार्यक्रमको समापनमा कोषका तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारी र स्थानीय तहको तर्फबाट जनप्रतिनिधिहरूले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

 

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले एकैपल्ट ३२ स्थानीय तहसँग सम्झौता भएर नयाँ इतिहासको शुरूवात भएको बताए ।

 

गण्डकीका तनहुँ, कास्की, स्याङ्जा, बागलुङ र पर्वतका ३२ वटा स्थानीय तहले शनिवार पोखरामा आयोजित एक समारोहका बीच सामाजिक सुरक्षा कोषसँग एकैपटक सम्झौता गरसिएको श्रम मन्त्रीका स्वकीय सचिव रंजित निष्पक्षले जानकारी दिए । योसँगै सामाजिक सुरक्षा कोषमा आबद्ध हुने गण्डकी प्रदेशका स्थानीय तहको संख्या ३४ पुगेको छ ।

सामाजिक सुरक्षा कोषका अनुसार सम्झौता बमोजिम कृषि, निर्माण, यातायात र घरेलु श्रमिकसहित स्वरोजगार व्यक्तिले सरकारले तोकेको आधारभूत पारिश्रमिक १० हजार आठ सय २० को ११ प्रतिशत हुन आउने एक हजार एक सय ९० रुपैयाँ मासिक रुपमा योगदान गर्नुपर्छ ।

त्यसमा स्थानीय तहले उक्त रकमको ९.३७ प्रतिशत अर्थात् एक हजार १३ रुपैयाँको योगदान गर्नेछन् । त्यसबाट विभिन्न चा वटा योजनामा श्रमिकले सुविधा पाउनेछन् ।​

औषधोपचार, स्वास्थ्य र सुरक्षित मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना अन्तर्गत योगदानकर्ताले सुविधा पाउनेछन् ।