विद्यार्थीले समयमै परीक्षा र नतिजा नपाएपछि विदेश रोजे : मन्त्री शर्मा

सफल खबर संवाददाता

बुधबार, ०३ माघ २०८०, १३ : २८
विद्यार्थीले समयमै परीक्षा र नतिजा नपाएपछि विदेश रोजे : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले त्रिभुवन विश्वविद्यालयले समयमै परीक्षा र नतिजा प्रकाशन नगर्दा विद्यार्थीले विदेश रोज्न थालेको बताएकी छन्। बुधबार त्रिभुवन विश्वविद्यालयमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएकी हुन्। उनले त्रिभुवन विश्वविद्यालयले समयमै परीक्षा नलिने र समयमा नै नतिजा प्रकाशन नगर्ने गुनासोहरु बढेको भन्दै विद्यार्थी सोही विषयलाई लिएर निजी विश्वविद्यालय र विदेशी विश्वविद्यालयतिर विस्तारै आकर्षित भइरहेको बताइन्।

उनले अध्ययन/अध्यापन र परीक्षा, नतिजा लगायतका विषयहरु सूचना र प्रविधिसँग जोड्दा समस्या समाधान हुने बताइन्।उनले अनलाइन माध्यमबाट अघि बढ्न विश्वविद्यालय पनि माथि उठ्ने विश्वास व्यक्त गरिन्।

उनले भनिन्, ‘टियुसँग केही गुनासाहरु छन्। नतिजा र परीक्षाहरुका समस्याहरुको बारेमा। समयमै नहुने समस्या छ। त्यसले गर्दा निजी विश्वविद्यालय र विदेशी विश्वविद्यालयतिर विस्तारै आकर्षित भइरहेका छन्।'

मन्त्री शर्माले सूचना तथा सञ्चार क्षेत्रलाई राज्यले अत्यावश्यक रुपमा लिन नसक्दा यी समस्याहरु सिर्जना भएको बताइन्।

प्रतिक्रिया दिनुहोस