संसद् सुरु हुनासाथ किराँतीको राजीनामा मागिन्छ : राप्रपा

सफल खबर संवाददाता

मंगलबार, १० पुस २०८०, ११ : ५२
संसद् सुरु हुनासाथ किराँतीको राजीनामा मागिन्छ : राप्रपा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको राजीनामा माग्ने भएको छ । संसद् सुरु हुनासाथ मन्त्रीको राजीनामा माग्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद एवम् दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए ।

मन्त्रीको अभिव्यक्तिलाई लिएर पार्टीले विरोध गरिरहेको र संसद् सुरु हुनासाथ राजीनामा माग गर्ने उनले बताए । प्रशासनसँगको कुराकानीमा शाहीले भने, ‘राप्रपाले यसको विरोध गरिरहेको छ । संसद् सुरु हुनासाथ मन्त्री सुदन किराँतीको राजीनामा माग गरिन्छ । उनी पाश्चर हुन् । पाश्चरले मन्त्री बन्ने होइन । गिर्जाघरमा गएर पूजा गर्ने हो ।’

‘क्रिष्टियन नमान्ने संविधान विरोधी हुन्, उनीहरूलाई जेल हाल्नुपर्छ’ भन्ने मन्त्री किराँतीको अभिव्यक्तिलाई लिएर केही दिनदेखि विरोध भइरहेको छ । सांसद शाहीले भने, ‘देशको संस्कृति मन्त्रीले स्वयम् अन्य धर्म मान्ने मान्छेलाई जेल हाल्छु, हतकडी लगाउँछु भन्नु अराजकताको पराकाष्ठा हो ।’

वैदिकसनातनहरु विश्वभर शान्त रहेको उल्लेख गर्दै शाहीले अहिले यसको फाइदा उठाएर धर्म, संस्कार, संस्कृति मास्ने काम भइरहेको आरोप लगाए । संस्कृति मन्त्रीको अभिव्यक्तिबाटै यसको पुष्टि भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस