नगर प्रहरीमाथि हातपात गर्ने व्यवसायी पक्राउ

सफल खबर संवाददाता

आइतबार, २४ मंसिर २०८०, २० : ११
नगर प्रहरीमाथि हातपात गर्ने व्यवसायी पक्राउ

कास्की । ड्युटीमा रहेको नगर प्रहरीमाथि हातपात तथा अभद्र व्यवहार गर्ने एक व्यवसायीलाई कास्की प्रहरीले पक्राउ गरेको छ । शनिवार साँझ महेन्द्रपुलमा फुटपाथको सामान हटाउने क्रममा नगर प्रहरीमाथि आक्रमण गर्ने रेनुका स्टोरका सञ्चालक गोविन्द प्रसाद घिमिरेलाई घटना लगत्तै कास्की प्रहरीले पक्राउ गरेको हो ।

घिमिरेलाई आइतबार सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको कास्की प्रहरीका प्रवक्ता डिएसपी श्रवण कुमार विकले जानकारी दिए। फुटपाथमा सामान राखेर व्यापार गर्दै आएका घिमिरेलाई पटक पटक त्यसो नगर्न आग्रह गर्दा समेत अटेर गरेपछि नगर प्रहरीले सामान हटाउन लाग्दा उनी आक्रमणमा उत्रिएका हुन् ।

“उहाँलाई हामीले पटक पटक फुटपाथ खालि गर्न आग्रह गर्‍यौँ, तर उहाँले सधैँ अटेर गर्नुभयो, नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले भने, सामान हटाउन खोज्दा अपशब्दले गाली गर्नुभयो र प्रहरीको गाडी मै आएर हातपात गर्नुभयो ।” हाल नगर प्रहरीले बजार क्षेत्रको फुटपाथ खालि गर्ने अभियान चलाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस