हुलाकी सडकले आवागमन सहज

रासस

शुक्रबार, १० कार्तिक २०८०, १५ : १३
हुलाकी सडकले आवागमन सहज

राँझा । हुलाकी सडक निर्माण भएपछि बाँकेको राप्तीपारीका बिनौना र बैजापुरवासीलाई आवागमनमा सहज भएको छ । 

हुलाकी सडकअन्तर्गत बाँकेको फत्तेपुरदेखि बैजापुर सम्मको सडक कालोपत्र भएपछि अहिले राप्ती सोनारी गाउँपालिकाका बासिन्दालाई सदरमुकाम नेपालगञ्ज आउनजान सहज भएको बिनौनास्थित भुवरभवानी माविका प्रधानाध्यापक चेतबहादुर विष्टले बताए ।

“सडक नबन्दा विद्यालय जानआउन वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुनुपर्थ्यो”, उनले भने, “सडक निर्माण भएपछि अब नेपालगञ्जबाटै आवतजावत गर्न सकिने भएको छ ।”

यो सडक निर्माण भएपछि राप्ती सोनारी गाउँपालिका-१, २, ३, ४, ५ र ६ का वडावासीलाई नेपालगञ्ज पुग्न सहज भएको उनको भनाइ छ । 

फत्तेपुर, विनौना र बैजापुरवासीलाई गाउँपालिकाको केन्द्र अगैया पुग्न पनि अहिले सहज भएको  छ । 

सडक कालोपत्रसँगै बीचमा पुल र कल्भर्ट निर्माणको कामसमेत भएको छ । 

सडक निर्माण भएपछि अहिले गाउँपालिका कार्यालय जानआउन धेरै सहज भएको राप्ती सोनारी गाउँपालिका-७ का वडाध्यक्ष रामलखन थारूले बताए । 

“सडक नबन्द वर्षायाममा गाउँपालिका कार्यालय पुग्न दुःख हुन्थ्यो, हुलाकी सडक बनेपछि अव धेरै सुविस्ता भएको छ”, उनले भने, “विगतमा बिग्रेको बाटोमा मोटरसाइकल र साइकलमा यात्रा गर्दा दुःख कष्ट पाउने गरेकामा अहिले सडक बनेपछि सबैलाई सहज भएको  छ ।”

हुलाकी सडक बनेसँगै अहिले पूर्व-पश्चिम राजमार्गको वैकल्पिक सडकका रूपमा सर्वसाधारणले यो सडक प्रयोग गर्न थालेका छन् । 

अगैयाबाट बैजापुर, बिनौना, फत्तेपुर हुँदै सोझै नेपालगञ्ज आउन सकिने भएकाले यो सडक छोटो पर्ने वडाध्यक्ष थारुको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस