सामाजिक सुरक्षा कोषमा ७ लाख ५७ हजार योगदानकर्ता आबद्ध, ५ अर्ब ६७ करोड दाबी भुक्तानी

सफल खबर संवाददाता

बुधबार, २० भदौ २०८०, १३ : ५६
सामाजिक सुरक्षा कोषमा ७ लाख ५७ हजार योगदानकर्ता आबद्ध, ५ अर्ब ६७ करोड दाबी भुक्तानी

काठमाडौं। सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई विभिन्न सुविधाबापत पाँच अर्ब ६७ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ ।कोषले सञ्चालन गरेको विभिन्न योजनाबापत ९८ हजार पाँच सय ७३ योगदानकर्तालाई उक्त रकम भुक्तानी गरेको हो ।

योगदानकर्ताको जीवनमा आइपर्ने स्वास्थ्य जोखिम कम गर्न तथा आयको निरन्तरताका लागि कोषले चार प्रकारका योजना सञ्चालनमा ल्याएको छ ।औषधोपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत ४० हजार तीन सय ८७ योगदानकर्तालाई ६५ करोड ८२ लाख ५० हजार रुपैयाँ र दुर्घटना तथा अशक्तता सुरक्षा योजनाबापत दुई हजार ३१ श्रमिकलाई सात करोड ८० लाख ८७ हजार रुपैयाँ भुक्तानी गरिएको कोषले जनाएको छ ।

 

यसैगरी आश्रित परिवार सुरक्षा योजनाबापत तीन सय ९३ योगदानकर्ताले नौ करोड २० लाख रुपैयाँ र वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत चार अर्ब ८४ करोड ३२ लाख १७ हजार रुपैयाँ भुक्तानी लिएका छन् । 

हालसम्म रु ४१ अर्ब एक करोड योगदान सङ्कलन भएको कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए ।कोषमा सात लाख ५७ हजार योगदानकर्ता सूचीकृत भएका छन् । 

औपचारिक क्षेत्रका चार लाख ४१ हजार पाँच सय ७६, वैदेशिक क्षेत्रका तीन लाख एक सय ५४ हजार चार सय ७७, अनौपचारिक क्षेत्रका एक र स्वरोजगार क्षेत्रका १९ जना श्रमिक तथा १८ हजार दुई सय ५२ रोजगारदाता आबद्ध भएका छन् ।