चितवन राष्ट्रिय निकुञ्जमा तीन लाख पर्यटक

रासस

विहीबार, ०४ साउन २०८०, २१ : १२
चितवन राष्ट्रिय निकुञ्जमा तीन लाख पर्यटक

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा दुई लाख ९९ हजार चार सय १२ पर्यटक भित्रिएका छन्। यो संख्या हालसम्मको सबैभन्दा बढी हो।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्ज भित्रिएका पर्यटकमध्ये दुई लाख पाँच हजार छ सय पाँच नेपाली, ५५ हजार आठ सय ७२ विदेशी र ३७ हजार नौ सय ३५ सार्क राष्ट्रका पर्यटक छन्। 

गत आर्थिक वर्षमा पर्यापर्यटनबाट २२ करोड ९३ लाख ९५ हजार नौ सय ५० राजस्व संकलन भएको छ। आव २०७८/७९ मा एक लाख ९० हजार चार सय ५८ पर्यटक निकुञ्ज भित्रिएका थिए। यो आवमा ११ करोड ४९ लाख ९७ हजार चार सय १३ राजस्व संकलन भएको थियो। 

यसैगरी आव २०७७/७८ मा ९८ हजार नौ सय २८ पर्यटक भित्रिँदा तीन करोड ५० लाख ८३ हजार तीन सय ७६ राजस्व संकलन भएको थियो।  आव २०७६/७७ मा एक लाख ८२ हजार चार सय ३५ पर्यटक निकुञ्ज प्रवेश गरेका थिए। सो आवमा १९ करोड ९२ लाख ५५ हजार छ सय ८१ राजस्व संकलन भएको थियो।
 
तिवारीका अनुसार निकुञ्ज स्थापनासँगै आव २०३१/३२ देखि निकुञ्जमा पर्यटकको तथ्यांक राख्न थालिएको हो। त्यस वर्ष आठ सय ३६ पर्यटक निकुञ्ज घुमेको तथ्यांक छ। यसबाट एक लाख ४० हजार दुई सय ९८ राजस्व संकलन भएको थियो। दोस्रो वर्ष अर्थात् आव २०३२/३३ मा दुई हजार दुई सय छ पर्यटक निकुञ्ज भित्रिँदा दुई लाख एक हजार चार सय २१ राजस्व प्राप्त भएको थियो।
 
पर्यटकको संख्याका हिसाबले गत आर्थिक वर्ष हालसम्मकै बढी हो। राजस्वको हिसाबले भने आव २०७५/७६ मा संकलन भएको २९ करोड ४४ लाख ६६ हजार छ सय ४० अहिलेसम्मको सबैभन्दा बढी हो। निकुञ्ज प्रवेश गर्ने नेपालीले एक सय ५०, सार्क देशकाले एक हजार र अन्य देशकाले दुई हजार राजस्व बुझाउने गर्दछन्। 
 
चितवन देशकै तेस्रो पर्यटकीय गन्तव्य हो। यहाँ अन्यत्र जिल्लाबाट राजधानी प्रवेश र बाहिरिने क्रममा समेत छोटो समयका लागि घुमफिर गर्ने पर्यटकसमेत बढी हुने गर्दछन्। यद्यपि अन्यत्रको तुलनामा यो संख्या निकै न्यून हो।
 
हालै जिल्लामा प्याराग्लाइडिङ, क्रुजसीप र गैँडाकोटमा मौलाकाली केवलकार सञ्चालनमा आएसँगै यहाँको पर्यटकीय गतिविधि बढ्ने अपेक्षा गरिएको छ। 

यहाँ आउने पर्यटकको पहिलो रोजाइ जङ्गल सफारी हुने गर्दछ। यससँगै धार्मिक, ऐतिहासिक, सांस्कृतिक गतिविधिमा पर्यटक रमाउने गर्दछन्। भरतपुर महानगरपालिकाले पनि सन् २०२४ लाई भ्रमण वर्षका रूपमा मनाउने तयारी गरेको छ।