रास्वपा विरुद्ध बाहिरबाट गुटको राजनीति भइरहेको छ : प्रवक्ता ढकाल

सफल खबर संवाददाता

विहीबार, ०४ साउन २०८०, २० : ४४
रास्वपा विरुद्ध बाहिरबाट गुटको राजनीति भइरहेको छ : प्रवक्ता ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीविरुद्ध बाहिरबाट गुटको राजनीति भइरहेको पार्टी महामन्त्री एवं प्रवक्ता डा.मुकुल ढकालले बताएका छन्। बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनका क्रममा ढकालले विभिन्न पक्षबाट रास्वपाविरुद्ध आक्रमण हुँदै आएको बताएका हुन्। 

रास्वपाका नेता स्वर्णीम वाग्लेको बचाउ गर्दै ढकालले सेना कटौतीका विषयमा कुनै कुरा नगरिएको दाबी गरे। उनले भने, ‘स्वर्णीम वाग्लेले सेना घटाउने कुरा भनेर बोल्नु भएको छैन। उहाँले भन्नु नै भएको छैन। यहाँ रास्वपाविरुद्ध नियोजित आक्रमण भइरहेको छ। झुटा समाचार आउने क्रममा सो विषय आएको हो। सेनाका विषयमा उहाँले केही भन्नु भएको छैन। यो नियोजित रुपमा कुप्रचार हो।’ 

प्रवक्ता ढकालले मिटर ब्याज रास्वपाकै जोडबलमा संसद बैठकबाट पारित भएको बताए। ढकालले भने, ‘अन्य दलहरूले नमाने पनि हाम्रो पार्टीले संसदमा मिटर ब्याज विधेयक पेश गर्न आग्रह गरेको थियो। सो विधेयक सदनमा पेश नभए सदननै अवरुद्ध गर्ने चेतावनी दिएका थियौं। सोही क्रममा हाम्रै जोडबलमा विधेयक सदनमा पेश भयो र प्रतिनिधि सभाबाट सर्वसम्मत रुपमा पारित पनि भयो।’ 

सोही क्रममा उनले मोरङ क्षेत्र नम्बर ४ बाट राजनीतिको आधारशीला बनाउने प्रस्टाए। उनले भने, ‘म यही क्षेत्रमा जन्मे हुर्के। अबको मेरो राजनीति यही विराटनगर ३, मोरङ क्षेत्र नम्बर ४ बाट अघि बढ्नेछ।’

प्रतिक्रिया दिनुहोस