भैरहवाका ’मिटरब्याजी’ रमानन्दको घर विप्लव समूहको कब्जामा

सफल खबर संवाददाता

शनिबार, ०९ असार २०८०, १६ : ०९
भैरहवाका ’मिटरब्याजी’ रमानन्दको घर विप्लव समूहको कब्जामा

रुपन्देही । विप्लब निकट नेकपा माओवादीका कार्यकर्ताले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं ५ मिलनचोकस्थित ’मिटरब्याजी’ रमानन्द बानियाँको घर कब्जामा लिएको छ ।

मिटरब्याजी पीडितहरुको आग्रहमा स्थानीयसहितको उपस्थितिमा नेकपाले उक्त घर नियन्त्रणमा लिएको जनाएको छ । मिटरब्याजी बानियाँले रुपन्देहीका झण्डै डेढ सयभन्दा बढी किसानहरुलाई न्युनतम ७५ हजारदेखि १० लाखसम्म ऋण दिएर कपाली तमसुक,दृष्टिबन्दक गराएर किसानका करोडौं रकम ब्याजका नाममा ठगेको उजुरी आएको नेकपाको दावी छ ।

बानियाँले झण्डै ७६ जना किसानहरुलाई ऋण दिँदा ५० प्रतिशत बढी ब्याजसमेत लगाएको विवरणमा सार्वजनिक गरिएको छ । भैरहवा, लुम्बिनी सांस्कृतिक र तिलोतमा नगरपालिका आसपासमा दर्जनौं किसान तथा साना व्यापारीलाई ऋण दिने बाहनामा मिटर ब्याजमार्फत करोडौं असुलेको पीडितहरुले बताएका छन् ।

बानियाले नक्कली कागज तयार पारेर ऋणीहरुलाई ल्याप्चे लगाई अकुत ब्याज लिएको दावी गरिएको छ । भनेको मितिमा पैसा नदिएका ऋणीलाई अर्को कागज तयार पारी ऋण रकममा थप २५ देखि ५० प्रतिशत थपेर सावा रकम बनाएका तथ्यहरु रहेको पीडितले बताएका छन् ।

बानियाँले अदालती अस्त्र प्रयोग गरेर दर्जनौं किसानलाई उठिबास लगाएका छन्,कैयौंले घर छाडेर आफन्तको सरण लिएर बस्न बाध्य भएका दावी गरिएको छ ।बानियाँको ठगी धन्दाका बारेमा झण्डै ६२ जनाले जिल्ला प्रशासन कार्यालय उजुरी दिएका छन् ।

२०७४ सालबाट पटकपटक उजुरी दिएपनि प्रशासनले वेवास्ता गरेपछि पीडित ऋणीहरुले विप्लव नेतृत्वको नेकपामा लिखित उजुरी दिएका थिए । नेकपामा उजुरी परेपछि पार्टीले पीडितहरु संग भएका प्रमाण र अनुसन्धानले बानियाँले किसानसंग करोडौं ब्याज मिटर व्याजमार्फत असुली गरेको देखिएको दावी सो पार्टीको छ ।

पीडित ऋणी, स्थानीयसहितको उपस्थितिमा नेकपाले शनिबार भैरहवास्थित मिलनचोक र बुद्धचोकमा रहेको बानियाँको घर कब्जामा लिएको हो । प्रदर्शनसहित बानियाँको घर पुगेको टोलीले घर कब्जासहित बिरोध सभा आयोजना गरेको थियोे ।

सभामा नेकपामा केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला ईन्चार्ज सरद सी,जिल्ला सेक्रेटरी बिरेन्द्र सी, जिल्ला सचिवालय सदस्य शिशिर सी लगायतमा नेताहरूले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस