यस्ता छन् राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकमा नयाँ व्यवस्था

सफल खबर संवाददाता

आइतबार, २१ जेठ २०८०, ०८ : १५
यस्ता छन् राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकमा नयाँ व्यवस्था

काठमाडौ । राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकमा जन्मसिद्धका सन्तानले वंशजको नागरिकता पाउने, स्वघोषणापछि आमाको नाममा नागरिकता पाउने र गैरआवासीय नेपालीले नागरिकता पाउने व्यवस्था छ । 

गैरआवासीय नेपालीलाई पनि निश्चित सीमासहित नागरिकता प्रदान गर्ने अर्को प्रावधान छ । जन्मका आधारमा नागरिकता पाएका व्यक्तिका सन्तानले वंशजको नागरिकता पाउने र गैरआवासीय नेपालीलाई नागरिकता दिने दुवै प्रावधानमा विवाद छैन । 

विवाद भने वैवाहिक अंगीकृत नागरिकतासम्बन्धी प्रावधानमा छ, जुन विषयमा विधेयक मौन छ ।
राजधानी दैनिक लेख्छ, अहिले नागरिकतासम्बन्धी हकलाई नियमन गर्ने कानुन २०६३ सालको ‘नेपाल नागरिकता ऐन’ हो । सो ऐनले ‘नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलाले नेपालको नागरिकता प्राप्त गर्न चाहेमा विदेशी नागरिकता त्याग्ने कारबाही चलाएको निस्सा पेस गर्नुपर्ने’ व्यवस्था गरेको छ । २०६३ सालको कानुनको यस्तो प्रावधानमा अहिले कुनै संशोधनको प्रस्ताव गरिएको छैन ।

त्यसैले यो विधेयक पारित भए वा नभएमा पुरानै व्यवस्थाले निरन्तरता पाउँनेछ । अर्थात् नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलाले विदेशको नागरिकता त्याग गर्ने कारबाही चलाएको प्रमाण पेस गरेमा उनी नेपालको नागरिकता प्राप्त गर्न योग्य हुनेछिन् । २०६३ सालमा मात्र होइन, नागरिकता संशोधन ऐन, २०४९ मा पनि यही प्रावधान थियो ।

यो विधेयक प्रमाणीकरणसँगै जन्मसिद्धका सन्तानले वंशजको नागरिकता पाउने भएका छन् । अब ३ असोज २०७२ को संविधान जारी हुनुअगाडि जन्मका आधारमा नागरिकता पाएकाहरूका सन्तानले वंशजको नागरिकता पाउनेछन् । सीमा नराखिएका कारण २०६३ सालको ऐनअनुसार नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलाले आफ्नो नागरिकता त्याग गर्ने कारबाही चलाएको निस्सा पेस गरेमा नागरिकता पाउँछिन् । अन्तरिम संविधानमा जन्मका आधारमा नागरिकता पाएकाहरूका सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था गरिएको थियो । यो व्यवस्थाका कारण धेरै गैरनेपालीले नागरिकता लिन सफल भएका थिए ।

३ असोज २०७२ भन्दा अगाडि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने उसको उमेर १६ वर्ष पूरा भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछन् । स्वघोषणापछि आमाको नामबाट नागरिकता प्रदान गर्ने व्यवस्था पनि यस विधेयकमा छ । अब नेपाली आमाबाट नेपालमा जन्म भएर यहीँ बसोबास गरेका तर बाबुको पहिचान नभएका व्यक्तिले स्वघोषणा गरेमा आमाको नामबाट नागरिकता पाउँनेछन् ।

त्यस्तो नागरिकता लिन चाहने व्यक्तिले बुबा पहिचान हुन नसकेको स्वघोषणा गर्नुपर्नेछ । यद्यपि, आमाको पनि मृत्यु भइसकेको वा होश ठेगानमा नरहेको अवस्था भए, त्यसको प्रमाणसहित स्वघोषणा गरेमा आमाको नामबाट नागरिकता पाउँनेछन् । स्वघोषणाको ढाँचा गृह मन्त्रालयले तयार पार्नेछ । तर, स्वघोषणा गर्दा झुटो ठहरिए सजायको व्यवस्था गरिएको छ ।

विधेयक प्रमाणीकरणले गैरआवासीय नेपालीलाई नागरिकता लिन बाटो खोलेको छ । उनीहरूले अब राजनीतिक र प्रशासनिकबाहेकका अधिकार प्रयोग गर्न पाउनेगरी नागरिकता पाउँनेछन् । नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई अंगीकृत नागरिकता तत्काल पाउने व्यवस्था पनि यस विधेयकमा छ ।

प्रमाणीकरण भएको विधेयकले अंगीकृत नागरिकता लिन समयको सर्त राखेको छैन । अर्थात्, नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई विवाह दर्तापछि अंगीकृत नागरिकता पाउने बाटो खुलेको छ । वंशज वा जन्मको आधारमा स्वयंले वा बाबु वा आमा, बाजे वा बज्यैले नेपालको नागरिकता लिएपछि विदेशी मुलुकको नागरिकता लिएको गैरआवासीयले यस्तो व्यवस्थाबमोजिम नागरिकता पाउँनेछन् ।

प्रतिक्रिया दिनुहोस