काठमाडौँमा तत्काल पर्यटक बसपार्क निर्माण गर्न सांसद भट्टराईको माग

सफल खबर संवाददाता

बुधबार, १० जेठ २०८०, ११ : ५७
काठमाडौँमा तत्काल पर्यटक बसपार्क निर्माण गर्न सांसद भट्टराईको माग

काठमाडौँ । नेकपा (एमाले)की सांसद विद्या भट्टराईले काठमाडौँमा सुविधा सम्पन्न पर्यटक बसपार्क तत्काल निर्माण गर्न सरकारसँग माग गरेकी छन् । बुधवार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले देशका विभिन्न पर्यटकीय सहरहरूमा जाने पर्यटकहरूका लागि व्यवस्थित र सुविधा सम्पन्न पर्यटक बसपार्क काठमाडौँमा निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

‘काठमाडौँमा नेपालका प्रमुख पर्यटकीय सहरहरू पोखरा, चितवन, लुम्बिनी, जनकपुरलगायतका गन्तव्यहरू पर्यटकीय बसहरूले सेवा दिइरहेका छन् । तर सबै बस व्यवसायी सडकबाटै पर्यटकहरू बोक्न बाध्य छन्’ उनले भनिन्, ‘त्यसैले काठमाडौँमा एउटा व्यवस्थित र सुविधा सम्पन्न टुरिस्ट बसपार्क निर्माण गर्न आवश्यक छ । यसका लागि सम्माननीय सभामुखमार्फत सरकारको ध्यानाकर्षण गर्दछु ।’

सांसद भट्टराईले नेपाल प्रवेश गरेपछि देशका विभिन्न ठाउँमा जाने पर्यटकहरू काठमाडौँमा बसपार्क नभएका कारण असुरक्षित भइरहेकाले पनि सरकारले उनीहरूलाई लक्षित गरेर बसपार्क बनाउन ढिलाइ गर्न नहुने स्पष्ट पारिन् । ‘सरकारले सन् २०२३ देखि २०३३ सम्मलाई नेपाल भ्रमण दशकको रूपमा मनाउने योजना अनुरूप नेपाल पर्यटन दशक रणनीतिक कार्य योजना सार्वजनिक गरेको छ । तर देशको राजधानी काठमाडौँमा आजसम्म टुरिस्ट बसपार्क स्थापना हुन सकेको छैन’ उनले भनिन्, ‘व्यवस्थित बसपार्क नबनेका कारण काठमाडौँको सोह्रखुट्टे सडकबाटै बस छुट्न बाध्य छन् । नेपाल प्रवेश गरेपछि देशका विभिन्न पर्यटकीय गन्तव्यहरुमा जानका लागि पर्यटकहरू असुरक्षित भएर सडकमा उभिनुपर्ने बाध्यता छ ।’ 

सांसद भट्टराईले सरकारले नेपाल भ्रमण दशक घोषणा गरे पनि त्यसअनुरूपको तयारी गर्न नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस