लोककल्याणकारी विज्ञापनबापतको रकम रोकिन्न : मन्त्री शर्मा

सफल खबर संवाददाता

मंगलबार, ०९ जेठ २०८०, २१ : ४६
लोककल्याणकारी विज्ञापनबापतको रकम रोकिन्न : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले लोककल्याणकारी विज्ञापनबापत मिडियालाई उपलब्ध गराउँदै आएको रकम नरोकिने बताएका छन्। नेपाल पत्रकार महासङ्घ, उपत्यका प्रदेश समितिको आज ज्ञापनपत्र बुझ्दै उनले जुनसुकै हालतमा पनि लोककल्याणकारी विज्ञापनबापतको रकम उपलब्ध गराइने प्रतिबद्धता जनाए। सरकारका प्रवक्ता शर्माले भने, “अहिले रकम कटौती गरेकोभन्दा पनि विनियोजित बजेटको रकम नपुगेको हो, हामीले जेठ १ गते नै अर्थ मन्त्रालयमा पत्र पठाएर अपुग रकम माग गरेका छौँ ।”

अर्थबाट रकम आउने र यदि रकम नआएको खण्डमा पनि मन्त्रालयले आन्तरिक व्यवस्थापन गरेर रकम उपलब्ध गराउने उनको भनाइ छ। मन्त्री शर्माले लोककल्याणकारी विज्ञापन रोक्ने सरकारको कुनै मनसाय नभएको प्रस्ट पारे। मन्त्रालय जहिल्यै पनि नेपाली मिडियाको हकअधिकारको पक्षमा भएको जनाउँदै मन्त्री शर्माले भने, “तपाइँहरुलाई म यति विश्वास दिलाउँछु, यो रकम जसरी पनि उपलब्ध गराइने छ।”

उनले आन्दोलनमा रहेको पत्रकार महासङ्घको उपत्यका प्रदेश समितिलाई आन्दोलन रोक्नसमेत आग्रह गरे। “लोककल्याणकारी विज्ञापन रोक्ने सरकारको कुनै मनशाय नभएकाले तपाइँहरुले आन्दोलन नै गर्न पर्दैन्थ्यो, अब आन्दोलन रोक्न आग्रह गर्दछु। लोककल्याणकारी विज्ञापनबापतको रकम उपलब्ध गराउन सरकार प्रतिबद्ध छ”, उनले भने।

ज्ञापन बुझाउने क्रममा महासङ्घ केन्द्रका महासचिव रोशन पुरी, वरिष्ठ पत्रकार दामोदर दुवाडी, महासङ्घका प्रदेश अध्यक्ष श्रीजन झा, महासचिव टेनिस रोकालगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस