हावाहुरीले कागती खेती नष्ट

सफल खबर संवाददाता

मंगलबार, ०९ जेठ २०८०, ०८ : २८
हावाहुरीले कागती खेती नष्ट

दमौली । केही दिनदेखि आएको हावाहुरीसहितको वर्षाले तनहुँको व्यास नगरपालिका–१३ आशापानीमा कृषकले लगाएको कागती खेतीमा नोक्सान पुर्याएको छ ।

स्थानीयवासी राजु रेग्मीले व्यावसायिकरूपमा सुरु गरेका कागती खेतीमा हावाहुरीले नोक्सानी गरेको हो । छब्बीस रोपनी क्षेत्रफलमा एक हजार बोट लगाएकामा हावाहुरीले तीन सय बोट नष्ट गरेको उनले जानकारी दिए ।

उनका अनुसार २६ रोपनी क्षेत्रफलमा व्यावसायिकरूपमा कागती खेती गरिएको छ । किसान रेग्मीले भने, ‘हावाहुरीले धेरै ठूलो क्षति पुगेको छ, तीन सयभन्दा बढी बोट भाँचिएको छ, बगैँचा ध्वस्त बनाएको छ ।’ कृषिमा केही गर्छु भन्ने सोच राखेर अगाडि बढ्दा प्रकृतिबाट ठगिएको उनले गुनासो गरे ।

कृषिप्रधान देश भनिए पनि कृषिमा सम्बन्धित निकायको कम चासो रहने गरेको उनले गुनासो गरे । कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले हावाहुरीले जिल्लाका विभिन्न ठाउँमा तरकारी बालीमा क्षति पुगेको जानकारी दिए ।

उनका अनुसार जिल्लाभर क्षतिको विवरण सङ्कलन भइरहेको छ । कृषिमा पुगेको क्षतिको मूल्याङ्कन गरेर कृषकलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

पछिल्लो समय कृषिमा युवाहरूको आकर्षण बढिरहेकाले युवालाई कृषि क्षेत्रमा टिकाइराख्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । व्यास नगरपालिकाले हावाहुरी, असिनापानीका कारण भएको क्षतिको विवरण सङ्कलन गर्न लागेको छ ।

केही दिन अगाडि आएको हावाहुरी, असिनापानीका कारणले नगरपालिका क्षेत्रका विभिन्न वडामा पारेको असरको विवरण सङ्कलन गरी सात दिनभित्र वडा विपद् समितिबाट निर्णय गराई नगर विपद् समितिमा सिफारिस गर्न सबै वडा समितिलाई निर्देशन दिइएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस