आरआर क्याम्पसका विद्यार्थीहरू आन्दोलित, विषय शिक्षकले दिए राजीनामा

सफल खबर संवाददाता

शुक्रबार, १५ बैशाख २०८०, १६ : ०६
आरआर क्याम्पसका विद्यार्थीहरू आन्दोलित, विषय शिक्षकले दिए राजीनामा

काठमाडौँ । रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा बीए दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् । बीए प्रथम वर्षको नतिजामा क्याम्पसले गम्भीर लापरबाही गरेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।उनीहरू क्याम्पस प्रशासनसँग ८ बुँदे माग राखेका छन् । बीए प्रथम वर्षको आन्तरिक तर्फको परीक्षा दिएका ९० प्रतिशतभन्दा बढी विद्यार्थीको नतिजामा अनुपस्थित देखाएको छ ।विशेषगरी अंग्रेजी विषयमा यस्तो समस्या बढी देखिएको हो । 

 

आन्तरिक परीक्षामा उपस्थित भएर परीक्षा दिएका विद्यार्थीहरूको नतिजामा भने अनुपस्थित देखाएपछि क्याम्पसको लापरबाही गरेको भन्दै विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन् ।बीए प्रथम वर्षको परीक्षाको नतिजामा गडबडी र प्राध्यापक लोकनाथ कोइरालाको राजीनामाका विषयसहित ८ बुँदे माग राख्दै विद्यार्थीहरूले आन्दोलन गरेका छन् ।बीए दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी हर्क बोहराले क्याम्पसको लापरबाहीका कारण आफूहरूको नतिजामा अनुपस्थित देखाएको बताए ।

‘बीए प्रथम वर्षको नतिजा दोस्रो वर्षको परीक्षा दिने समयमा प्रकाशित भयो । प्रकाशित भएको नतिजामा पनि गम्भीर त्रुटि देखियो । आन्तरिक मुल्याङकन परीक्षा दिएका थियौं । तर, अहिले रिजल्ट हेर्दा अप्सेन्ट देखाइदियो,’ बोहराले भने ।नतिजा प्रकाशित भएको भोलिपल्ट नै क्याम्पस प्रमुखसँग कुरा गरेको तर, कुनै जवाफ नदिएको उनले बताए ।अंग्रेजी विषय पढाउने शिक्षक लोकनाथ कोइरालाले सबै विद्यार्थीलाई आन्तरिक परीक्षाको नम्बर दिएकाे बताएका छन् । तर, नतिजा आउँदा भने अप्सेन्ट देखाएकाले विद्यार्थीहरू आन्दोलनमा उत्रिन बाध्य भएको कोइरालाले बताए । उक्त समस्याबारे कुनै चाँसो नदेखाएपछि विद्यार्थीहरूले क्याम्पस प्रमुख प्रा.डा. जीवनधर ज्ञवालीलाई लापरबाही गरेकोमा धन्यवाद दिँदै फुलमाला लगाइदिएका थिए ।

सम्बन्धित विषय शिक्षकले दिए राजीनामा:

विद्यार्थीमाथि अन्याय भएको भन्दै विषय शिक्षकले राजीनामा दिएका छन् । अंग्रेजी विषय पढाउँदै आएका शिक्षक लोकनाथ कोइरालाले क्याम्पस प्रमुखलाई राजीनामा पेश गरेका हुन् । तर, उनको राजीनामा स्वीकृत भएको छैन ।उनले ७ पेज लामो पत्र लेख्दै राजीनामा दिएका हुन् । विद्यार्थीहरूले यो विषयमा गल्ती अन्यले गरेपनि शिक्षक कोइरालालाई राजीनामा गर्न लगाइएको बताएका छन् ।होनहार विद्यार्थीको उचित मूल्यांकन गर्ने काममा चुक्दा भएको जघन्य भुलले आफूलाई फेरि विद्यार्थी मूल्यांकन गरेर नम्बर लेख्ने साहस नआएको कोइरालाको भनाई छ । कोइरालाले क्याम्पसमा आउन मन नलागेको भन्दै विद्यार्थीको हातमा राजीनामा पत्र पठाएको बताए ।

२०७७ सालमा बीए प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरूको २०७८ सालमा परीक्षा सम्पन्न भएको थियो । शिक्षक कोइरालाले आन्तरिक परीक्षाको समयमा भएको घटनाबारे समेत राजीनामा पत्रमा उल्लेख गरेका छन् । ‘...परीक्षा सकिएपछिको क्षण म र मेरा समकक्षी, समय सकिएपछि बटुलिएका कापी मिलाउँदै थियौं । १८ नम्बर कोठामा । कापीको रोलनम्बर मिलाउँदै पोका बनाउँदै गरेका हाम्रो अगाडि निर्देशन दिँदै जाँच चलाउन लगाएका परीक्षा तथा विद्यार्थी कल्याणकारीका देवी घिमिरे ज्यू आइपुग्नुभयो र खाली कापी र प्रश्नपत्र माग्नु भयो । जुन कुरा हामीले नमानेपछि एउटा खाली कापी र प्रश्नपत्र थुतेर त्यहाँबाट जानु भयो,’ उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।कोइरालाले राजीनामा पत्रमा त्यो बेला भएको सबै कुराको बेलिबिस्तार लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस