कमजोरीका छिद्र खोजेर शान्ति प्रक्रिया बिथोल्न पाइँदैन : मन्त्री मोदी

सफल खबर संवाददाता

बुधबार, २४ फागुन २०७९, २० : ३३
कमजोरीका छिद्र खोजेर शान्ति प्रक्रिया बिथोल्न पाइँदैन : मन्त्री मोदी

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले कमजोरीका छिद्र खोजेर बृहत् शान्ति सम्झौताको मूल प्रक्रियालाई बिथोल्न नपाइने बताएका छन् । 

सगरमाथा प्रतिष्ठान नेपालको २२ औं स्थापना दिवस तथा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित अन्तर्राष्ट्रिय नारी सम्मान एवम् नेपाल सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् । 

केही पात्रहरुले देशलाई अशान्तितिर लैजान खोजेको भन्दै मन्त्री मोदीले भने, ‘द्वन्द्वकालीन मुद्दालाई लिएर मान्छेहरु अशान्ति फैलाउन खोजेका छन् । देशलाई अशान्तितिर लैजाने काम कसैले गर्छ भने त्यो स्वीकार्य हुँदैन ।’

मन्त्री मोदीले पूर्वाग्रही ढंगले सोच निर्माण गरेर केही कदमहरु चालेको बताउँदै जनयुद्धकै देनका कारण मुलुकले महिला राष्ट्रपति र प्रधानन्यायाधीश पाएको विषयलाई बिर्सन नहुने बताए । 

‘कुनैबेला महिलाहरुलाई चुल्हो र चौकामा मात्रै सीमित गर्नुपर्छ भन्ने एउटा सोच थियो’ मन्त्री मोदीले भने, ‘महिला दिदीबहिनीहरुलाई गाउँदेखि केन्द्रसम्म ३३ प्रतिशतसम्म प्रतिनिधित्व गराउने भूमिका अहिलेको सम्माननीय प्रधानमन्त्रीज्युले नै खेल्नुभएको हो, मुलुकले महिला प्रधानन्यायाधीश र राष्ट्रपति पाएको पनि अहिलेको प्रधानमन्त्रीज्युको नेतृत्वमा भएको जनयुद्ध कारणले सम्भव भएको हो ।’

पशुलाई घरभित्र पस्न दिइने तर दलित भएकै कारण घरबाहिर राख्ने प्रचलनको अन्त्य पनि जनयुद्धबाटै सम्भव भएको मन्त्री मोदीको भनाई थियो । 

‘हामी सबै शान्ति चाहन्छौँ । हरेक वर्ग, हरेक समुदाय, जात जाति लिंगले न्याय पाउनुपर्छ भनेर हामीले आवाज उठाएका हौँ । हामी शान्ति प्रक्रियामा आइसकेका छौँ, देश शान्ति प्रक्रियामा आइसकेको छ’, मन्त्री मोदीले भने, ‘कमजोरीका छिद्रहरु खोजेर शान्ति प्रक्रियालाई बिथोल्न खोजिरहेका छन् । त्यस्तो काममा नलाग्नका लागि म विशेष रुपमा आग्रह गर्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस