बजार विश्लेशण प्रशिक्षक निर्माण गर्दै आइटीसी

सफल खबर संवाददाता

सोमबार, १२ मंसिर २०७९, १६ : ४०
बजार विश्लेशण प्रशिक्षक निर्माण गर्दै आइटीसी

काठमाडौं । त्रिभूवन विश्व विद्यालयका प्राध्यापकहरूलाई अन्तराष्ट्रिय व्यापार केन्द्र (आइटिसी) ले विकास गरेको व्यापार र बजार पहुँच सम्बन्धी आधुनिक डिजिटल औजारहरूकोबारेमा जानकारी गराइ प्रशिक्षक बनाउने उद्देश्यले आज देखि काठमाडैंमा पाँच दिने प्रशिक्षक तालिम कार्यशाला शुरू भएको छ । 

तालिममा सिकेका कुरा प्रशिक्षित प्राध्यापकहरूले आफ्नो कार्यस्थलमा आदान प्रदान गर्ने अपेक्षाका साथ यो कार्यशाला आयोजना गरिएको हो । मंसिर १६ गतेसम्म चल्ने यो कार्यशाला युरोपियन युनियन–नेपाल व्यापार तथा लगानी कार्यक्रम ( टिआइपी) ले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको समन्वय र आइटिसीको प्राविधिक सहयोगमा आयोजना गरेको हो । यो कार्यशालाबाट सिकेका कुरा अध्यापन वा अनुसन्धानको क्रममा आफ्नो कार्यस्थलमाआदानप्रदान गराउन त्रिभूवन विश्वविद्यालयका प्राध्यापकहरूबीच आइटिसी उपकरणका प्रमाणित प्रशिक्षकहरूको संजाल निर्माण गर्ने रहेको छ ।

कार्यशालामा आइटिसीका विज्ञहरूद्धारा यी व्यापार मार्गचित्र र बजार पहुँच मार्गचित्रसम्बन्धी महत्पूर्ण उपकरणहरूको प्रयोगबारे ज्ञान दिलाउनेमात्र नभइ सहभागीले सिकेको ज्ञानको क्षमता मूल्याङ्कन गर्न हरेकलाई प्रशिक्षकको भूमिका खेल्न लगाउने र उनीहरूको प्राविधिक ज्ञान उपकरण प्रयोग गर्न सक्ने क्षमता तथा सिकाउन सक्ने क्षमताको जाँच गर्नेछन् । कार्यशालालाई अझ बढी व्यवहारिक र अन्तरक्रियात्मक बनाउन प्राविधिक छलफल अभ्यास तथा भूमिका खेल्ने सत्रहरू समेत संचालन गरिनेछन् ।गत वर्षको तालिममा उत्कृष्ठ प्रदर्शन गरेका सहभागी प्राध्यापकहरूलाई यस तालिममा सहभागी गराइएको हो । गत वर्षको नोभेम्बरमा पनि आइटिसीले बजार विश्लेषण सम्बन्धी उपकरणहरूको बारेमा त्रिभूवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्राध्यापकहरूलाई प्रारम्भिक प्रशिक्षण सफलतापूर्वक सम्पन्न गरेको थियो ।

प्रतिक्रिया दिनुहोस