चलचित्र ‘महापुरुष’ ले ३० दिनमा कमायो १० करोड

सफल खबर संवाददाता

सोमबार, १२ मंसिर २०७९, १२ : ५९
चलचित्र ‘महापुरुष’ ले ३० दिनमा कमायो १० करोड

काठमाडौं । महजोडी अर्थात कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित चलचित्र ‘महापुरुष’ ले ३० दिनमा १० करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।

तिहार बिदाको अवसर पारेर गत कार्तिक ११ गतेबाट देशभर प्रर्दशनमा आएको यस चलचित्रले बक्स अफिसमा निकै राम्रो कमाई गरेको हो । चलचित्रले १० करोड रुपैयाँ ग्रस कमाई गरेको खुशी निर्माण टिमले आइतवार केक काटेको छ ।

चलचित्रका लेखक तथा निर्देशक रहेका प्रदीप भट्टराईले सामाजिक सञ्जाल फेसबुक मार्फत पनि उक्त सफलतालाई साटेका छन् । उनले फेसबुकमा स्टाटस राख्दै सबैलाई धन्यबाद दिएका छन् । उनले लेखेका छन्, ‘फुलको थुङ्गा जस्तै एक-एक टिकट उनेर तपाइँहरुले मायाको माला लगाइदिदा महापुरुषले १० करोड कलेक्सन गरेको छ । धन्यवाद सबैमा । जय महापुरुष । जय नेपाली सिनेमा । जय दर्शक ।’

षट्कोण आर्ट्स प्रा.लि.को ब्यानरमा निर्मित चलचित्रले स्वदेशको अलवा विदेशमा पनि राम्रो व्यवसाय गर्न सफल भएको छ । चलचित्रका हालसम्मका सबै शोहरू हाउसफुल भएका छन् । चलचित्रले अमेरिका, अष्ट्रेलियामा र डेनमार्क मा पनि राम्रो कमाई गरेको छ ।

चलचित्रमा महजोडीसँगै रविन्द्र सिंह बानियाँ, गौरी मल्ल, राजाराम पौडेल, अरुण क्षेत्री, अन्जना बराइली, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार लगायत कलाकारको अभिनय रहेको छ ।यस चलचित्रका निर्माता दिपेश खत्री हुन् भने कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस