रुसमा लैंगिक तथा यौनिक अल्पसंख्याक माथिको प्रतिबन्ध थप कडा बन्ने

एजेन्सी

शुक्रबार, ०९ मंसिर २०७९, ११ : ५१
रुसमा लैंगिक तथा यौनिक अल्पसंख्याक माथिको प्रतिबन्ध थप कडा बन्ने

रुस । रुसको तल्लो सदनले सर्वसम्मत रुपमा तथाकथित ‘गे प्रोपोगाण्डा’ माथिको प्रतिबन्ध थप बढाउने सम्बन्धी प्रस्ताव पारित गरेको छ। नयाँ कानून अनुसार समलैंगिता सम्बन्धी पुस्तक, चलचित्र र अनलाइन सामग्रीसहित गैरकानूनी भएको छ। त्यसका लागि गम्भीर सजायको व्यवस्था गरिएको छ।

रुसको यो कानूनलाई ‘आन्सर टू ब्लिंकन’ उपनाम दिइएको छ, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले रुसमा वाक स्वतन्त्रता गम्भीर रुपमा प्रतिबन्धित भएको बताएका थिए। सोही कारण कानूनको उपनाम उनलाई दिइएको उत्तरका रुपमा राखिएको हो।

नयाँ कानूनले रुसमा लैंगिक तथा यौनिक अल्पसंख्याक एलजिबिटिआइक्यू समुदायलाई थप दबाउने अभियन्ताले बताएका छन्। रुसी तल्लो सदन डुमाका सबै ३९७ सदस्यले नयाँ कानूनको पक्षमा मत दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

माथिल्लो सदनबाट पारित भएर राष्ट्रपति भ्लादिमिर पुटिनले हस्ताक्षर गरेपछि यसले औपचारिक रुपमा कानूनको रुप लिने छ। तर बाँकी प्रक्रियालाई पूरा हुन बाँकी औपचारिकता मात्रै ठानिएको छ।