९० लाखमा बनेको ‘कोल्ड स्टोर’ उपयोगविहीन

सफल खबर संवाददाता

विहीबार, २७ असोज २०७९, ०८ : ३८
९० लाखमा बनेको ‘कोल्ड स्टोर’ उपयोगविहीन

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुईपामा निर्माण गरिएको कोल्ड स्टोर (चिस्यान केन्द्र) उपयोगविहीन भएको छ ।

संघीय सांसद् निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा ९० लाखको खर्चमा निर्माण गरिएको चिस्यान केन्द्र उपयोगविहीन बनेको हो ।

उद्घाटन गरिएको ६ महिना बित्दासमेत कोल्ड स्टोरलाई निर्धारित लक्ष्यअनुसार सञ्चालनमा ल्याउन सकिएको छैन । ३० टन भार क्षमताको कोल्ड स्टोर २५ चैत २०७८ मा तत्कालिन प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले उद्घाटन गरेका थिए ।

किसानले उत्पादन गरेका हरियो तरकारी, आलुको बीउ, फलफूललगायतका कृषि उपज भण्डारणका लागि बुईपाको पञ्चरदोबाटो नजिकै चिस्यान केन्द्र निर्माण गरिएको हो ।सार्वजनिक २ रोपनी जग्गामा निर्माण गरिएको चिस्यान केन्द्रमा जिल्लामा उत्पादित कृषि सामग्रीलाई व्यवस्थित तरिकाले लामो समयसम्म सुरक्षित रुपमा भण्डारण गर्न सकिन्छ ।

चिस्यान केन्द्र उद्घाटनका क्रममा किसानको तरकारी र फलफुल कुहिएर जाने समस्याको अन्त्य गर्न सघाउ पुग्ने भन्दै भाषण हुँदा किसानले हर्षले ताली पिटेका थिए तर हालसम्म उपयोगमा नआउँदा चिस्यान केन्द्रमा भएको सरकारी लगानी बालुवामा पानी झैँ भइरहेको छ । जिल्लामा चिस्यान केन्द्रको व्यवस्था नहुँदा किसानलाई भण्डारणको समस्या छ ।

नगरपालिकाले कार्यविधि निर्माण नगरेका कारण चिस्यान केन्द्र हालसम्म सञ्चालनमा आउन नसकेको बुईपाका वडाध्यक्ष दिनेश राईले बताए ।
नगरपालिकाको स्वामित्वमा रहेको चिस्यान केन्द्रको रेखेदेख मात्र वडाको दायित्वभित्र पर्ने वडा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस