करोडौँ खर्च गरेर शीतभण्डार बनेपनि सञ्चालनमा नआउँदा किसान मर्कामा

सफल खबर संवाददाता

मंगलबार, ११ असोज २०७९, ०७ : ४९
करोडौँ खर्च गरेर शीतभण्डार बनेपनि सञ्चालनमा नआउँदा किसान मर्कामा

flle Pic

काठमाडौं । इलाममा करोडौँ खर्च गरेर निर्माण गरिएको शीतभण्डार (कोल्डस्टोर) प्रयोग नहुँदा किसान तथा व्यवसायी मर्कामा परेका छन् । किसानले उब्जनी गरेको फलफूल तथा तरकारी भण्डारण गर्ने स्थान नहुँदा जिल्लाका किसान तथा व्यवसायी समस्यामा परेका हुन् ।

दश वर्षअघि निर्माण भएको शीतभण्डार प्रयोगविहीन हुँदा यहाँका किसानले उब्जनी गर्नेबित्तिकै सस्तो मूल्यमा  फलफूल तथा तरकारी बेच्नुपर्ने किसानलाई बाध्यता रहेको छ ।   इलाम कृषि उत्पादनका लागि उर्वर भूमि मानिन्छ । जिल्लामा उत्पादित भएका तरकारी र फलफूल भण्डारण गर्ने हो भने बाहिरबाट यस्ता वस्तु ल्याउनु नपर्ने व्यवसायी बताउँछन्  ।

 इलाम नगरपालिका र भारतीय दूतावासको सहयोगमा इलाम –९ स्थित सेरामा १० वर्षअघि निर्माण भएको शीतभण्डार सञ्चालन नहुँदा यहाँ उत्पादित नगदेबाली भण्डारणमा समस्या भएको किसान दूर्योधन खत्रीको भनाइ छ   । 

। यसका लागि नेपाल सरकारबाट रु ६७ लाख ५८ हजार र इलाम नगरपालिकाले रु ४३ लाख पाँच हजार र  भारत सरकारबाट रु चार  करोड ३९ लाख तीन हजार खर्च गरिएको थियो । किसान उमकान्त रिजालले शीतभण्डार निर्माण भएर पनि सञ्चालनमा नआउँदा अधिकांश तरकारी तथा फलफूल बारीमै कुहिएर जाने गरेको बताए । 

 नगरपालिकाका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी रामकुमार साहले पटक–पटक पहल गरे पनि सञ्चालन हुन नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस