एसियाकप : अफगानिस्तानलाई पराजित गर्दै पाकिस्तान फाइनलमा उपाधिका लागि श्रीलंकासँग भिड्ने

एजेन्सी

विहीबार, २३ भदौ २०७९, ०७ : ५१
एसियाकप : अफगानिस्तानलाई पराजित गर्दै पाकिस्तान फाइनलमा उपाधिका लागि श्रीलंकासँग भिड्ने

एजेन्सी । एसियाकप टी-२० क्रिकेटमा पाकिस्तानले लगातार दोस्रो जित निकाल्दै फाइनलमा स्थान बनाएको छ। अफगानिस्तानविरुद्धको रोमाञ्चक खेलमा पाकिस्तान १ विकेटले विजयी रह्यो।

पाकिस्तानको जितसँगै श्रीलंका पनि फाइनल प्रवेश गर्न सफल भयो। दुबैले शीर्ष चारमा समान २-२ जित निकाल्दै एक खेल अगावै फाइनलमा स्थान बनाए। अब उपाधिका लागि पाकिस्तानले ११ सेप्टेम्बर मा श्रीलंकाको सामना गर्ने पक्का हुँदा भारत र अफगानिस्तान भने एक खेल अगावै प्रतियोगिता गुमाउन बाध्य बनेका छन्।

लगातार दोस्रो जित निकाल्ने क्रममा पाकिस्तानले टस जितेर पहिले बलिङ रोजेको थियो। पहिलो ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २९ रन बनाएको थियो। उसका लागि इब्राहिम जाद्रानले सर्वाधिक ३५ रन बनाएका थिए।

त्यस्तै, हर्जतुल्लाह जाजाईले २१ रन बनाउँदा रमनुल्लाह गुर्वाजले १७ रन जोडेका थिए। करिम जनतले १५ रन बनाउँदा नजिबुल्लाह जाद्रानले १० रन बनाए। त्यस्तै, अजमतुल्लाह ओमरजाई १० र रासिद खान १८ रनमा अविजित रहेका थिए। पाकिस्तानका लागि हरिस रउफले २ विकेट लिंदा सादव खान, मोहम्मद नवाज, मोहमद हसनइन र नसिम साहले समान १-१ विकेट लिएका थिए।

१ सय ३० रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४ बल बाँकी हुँदा ९ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो। अन्तिम ओभरमा ११ रन चाहिएको अवस्थामा नसिम साहले फजलहक फारुखीलाई लगातार दुई बलमा दुई छक्का प्रहार गर्दै जित पक्का गरेका थिए।

त्यसअघि पाकिस्तानका लागि सादव खानले सर्वाधिक ३६ रन बनाएका थिए। त्यस्तै इफ्तिखर अहमेदले ३० रन जोडेका थिए। त्यस्तै, ओपनर मोहम्मद रिजवान २० रनमा आउट हुँदा नसिम साह १४ रनमा अविजित रहे। अफगानिस्तानका लागि फजलाहक फारुखी र फरिद अहमेदले समान ३(३ विकेट लिँदा रसिद खानले २ विकेट लिएका थिए।

प्रतिक्रिया दिनुहोस