विभिन्न खेलका खेलाडी छनोट

सफल खबर संवाददाता

शुक्रबार, १० भदौ २०७९, १५ : २५
विभिन्न खेलका खेलाडी छनोट

काठमाडौं । राष्ट्रिय खेलकुदका लागि इलामबाट विभिन्न खेलका खेलाडी छनोट गरिएको छ । पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुदको लागि जिल्लाबाट विभिन्न विधाका खेलका खेलाडी छनोट गरिएको हो । प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागिताका लागि खेलाडी छानिएको जिल्ला खेलकुद विकास समिति इलामका कार्यालय प्रमुख नारायण भट्टराईले जानकारी दिए । उनका अनुसार फुटबलसहित भलिबल, रग्बी, कराते, साइक्लिङ, ब्याडमिन्टनलगायत गरी १७ खेलबाट दुई सय ७९ खेलाडी छनोट गरिएको हो । 

बुद्धिचालतर्फ सबैभन्दा कम खेलाडी अर्थात् पुरुष दुई र महिला एक गरेर तीन खेलाडी छनोट गरिएको छ । त्यस्तै साइक्लिङ विधातर्फ तीन पुरुष र एक महिला राइडर छनोट गरिएको जनाइएको छ । यस विधाका लागि टाईसन राई, सागर तामाङ (विश्वास) राई र केसीका राईले इलामबाट प्रदेश छनोटमा सहभागिता जनाउने बताइएको छ ।करातेबाट महिलातर्फ ४५ किलोदेखि ६८ किलो तौल समूह र पुरुषतर्फ ५० देखि ८४ किलोमाथिको तौल समूहका खेलाडी छनोट गरिएको छ । त्यसैगरी टिम कुमुते, टिम काता, एकल काताका खेलाडीसमेत छनोट गरिएको हो ।

सबैभन्दा बढी खेलाडी फुटबल खेलबाट छनोट गरिएको छ । महिलातर्फका उक सय ३० खेलाडीमध्येबाट २५ जनालाई प्रारम्भिक छनोट गरिएको थियो । प्रारम्भिक सूचीमा परेकामध्येबाट पछिल्लो पटक १६ खेलाडी छनोट गरिएको छ । 

त्यसैगरी पुरुषतर्फ एक सय ९५ खेलाडीमध्ये प्रारम्भिक सूचीमा ३६ खेलाडी रहेका थिए । त्यसबाट अन्तिम छनोटमा परेका १६ जनालाई बन्द प्रशिक्षणमा राखिने जनाइएको छ । यही भदौ ३ गतेबाट खेलाडी छनोट सुरु गरिएको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस