नागरिकता विधेयक आज फेरि प्रतिनिधिसभाबाट पारित हुँदै

सफल खबर संवाददाता

विहीबार, ०२ भदौ २०७९, ०७ : २२
नागरिकता विधेयक आज फेरि प्रतिनिधिसभाबाट पारित हुँदै

काठमाडौं । राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक बिहीबार प्रतिनिधिसभाबाट पारित गर्ने सत्तापक्षको तयारी छ। यसअघि नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ संघीय संसद्का दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस भएको थियो।

राष्ट्रपतिबाट पुनर्विचार गर्न भन्दै विधेयक साउन २९ गते सदनमा फिर्ता भएको थियो। कार्यसूचीबमोजिम अघि बढे बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको नागरिकता विधेयक पुनर्विचार गरियोस् भनी प्रस्ताव गर्नेछन्।

विधेयकमाथि कुनै संशोधन नगर्ने सहमति सत्तारूढ पाँच दलबीच भएको छ। दुवै सदनबाट विधेयक पारित भएपछि राष्ट्रपतिसमक्ष पुनः पठाइनेछ। नागरिकता विधेयक पारित भएपछि बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक अघि बढाउने तयारी सरकारको छ।

राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक प्रतिनिधिसभाले बिहीबार पारित गर्ने तयारी गरिएको छ। राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयकलाई बिहीबारको प्रतिनिधिसभा बैठकले पारित गर्ने सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ। प्रतिनिधिसभाले फिर्ता भएको नागरिकता विधेयकलाई बिहीबार पारित गरेमा यसलाई बिहीबार नै राष्ट्रियसभामा सन्देश पठाउने तयारी गरिएको छ।  

संसद्को बैठक बिहीबार ११ बजे बोलाइएको छ। राष्ट्रपतिबाट नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई पुनर्विचार गर्न भन्दै गत साउन २९ गते सन्देश सहित फिर्ता भएको थियो। यस विधेयकलाई प्रतिनिधिसभाको ३१ गतेको बैठकमा सन्देशसहित फिर्ता भएको जानकारी गराइएको थियो।