नर्भिक अस्पतालले साउन २१ गते यूरोलोजीको निःशुल्क ओपिडी सेवा गर्ने

सफल खबर संवाददाता

विहीबार, १९ साउन २०७९, १५ : १२
नर्भिक अस्पतालले साउन २१ गते यूरोलोजीको निःशुल्क ओपिडी सेवा गर्ने

काठमाडौँ । नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तर्गत शनिबार (साउन २१ गते) विशेषज्ञसहितको दुई यूरोलोजी टिमबाट निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ।

नर्भिकले शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म एउटा टिम र बिहान ९ बजेदेखि १०ः३० बजेसम्म अर्को टिम परिचालन गरी निःशुल्क ओपिडी सेवा सञ्चालन गर्न लागेको हो।

नर्भिकले विगत लामो समयदेखि यूरोलोजी टिमकै विशेष निःशुल्क ओपिडी अभियान संचालन गरिरहेको छ। पछिल्लो समय मूत्रनली तथा मूत्रथैलीसँग सम्बन्धित स्वास्थ्य समस्या जनमानसमा बढ्न थालेसँगै नर्भिकले पनि आफ्नो निःशुल्क ओपिडी यसमै केन्द्रीत गरिरहेको हो।

यूरोसर्जरी विशेषज्ञद्वय डा. सञ्जीवभक्त बिष्ट र डा. सुनिल श्रेष्ठ नेतृत्वको टिमले प्रोस्टेट ग्रन्थीसम्बन्धी सबै खालका समस्या भएका बिरामीहरुलाई लक्षित गरी निःशुल्क ओपिडी तथा परामर्श सेवा सञ्चालन गर्नेछ। यो टिमले बिहान ८ बजेदेखि १० बजेसम्म सेवा दिनेछ।

मुटुको समस्या भएका बिरामी तथा रगत पातलो गर्ने औषधि प्रयोग गरिरहेका बिरामीहरुका लागि लेजर प्रविधिबाट प्रोस्टेटको शल्यक्रियासमेत यो टिमले गर्नेछ। शल्यक्रिया शुल्कमा विशेष सहुलियतको अफरसमेत उपलब्ध गराइएको अस्पतालले जनाएको छ।

यसैगरी, ९ बजेदेखि १०ः३० बजेसम्म यूरोलोजी विशेषज्ञद्वय प्रा.डा. रविन जोशी र डा. इशान मल्ल नेतृत्वको टिमले पनि निःशुल्क ओपिडी सेवा दिनेछ।

मृगौला, मूत्रनली तथा मूत्रथैलीको पत्थरी, क्यान्सर, प्रोस्टेट, अण्डकोष तथा हर्नियाको समस्या भएका बिरामीहरुले यो ओपिडीबाट लाभ लिन सक्नेछन्।

निःशुल्क ओपीडी अभियानमा सहभागी भइ शल्यक्रिया गर्नुपर्ने आवश्यकता भएका बिरामीहरुलाई शल्यक्रिया शुल्कमा विशेष छुटको समेत व्यवस्था गरिएको अस्पतालले जनाएको छ।

नर्भिकमा हाल सानो प्वाल बनाइ मिर्गौलाको पत्थरी निकाल्ने प्रविधि, घाउ नबनाइ मिर्गौलाको पत्थरीको उपचार गर्ने तथा घाउ नबनाइ मूत्रनलीको पत्थरी लेजरले धूलो बनाउने प्रविधिसमेत उपलब्ध छ।

यस्तै, दूरविनको माध्यमबाट घाउ बनाइकन प्रोस्टेट र मूत्रथैलीमा पलाएको ट्यूमरको समेत उपचार हुने गरेको अस्पतालले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस