अमेरिकी सहायक विदेशमन्त्री लुविरुद्ध विप्लवका कार्यकर्ताले गरे प्रदर्शन

सफल खबर संवाददाता

विहीबार, १२ साउन २०७९, १७ : १९
अमेरिकी सहायक विदेशमन्त्री लुविरुद्ध विप्लवका कार्यकर्ताले गरे प्रदर्शन

काठमाडौँ । आजै काठमाडौँ आइपुगेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुविरुद्ध प्रदर्शन भएको छ। सहायक विदेशमन्त्री लु विमानस्थलबाट होटलतर्फ जाने क्रममा गौशालानजिकै तिलगंगामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा उत्रिएका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ८ पुरुष र एक महिला रहेको प्रहरीले जानकारी दिएको छ।उनीहरुले नाराबाजी गरेपछि केहीबेर सडक अवरुद्धसमेत भएको थियो।

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनासम्बन्धी सम्झौता नेपालको संसद्बाट अनुमोदन हुनुअघि नेपाल आएका लु बिहीबार फेरि नेपाल आएका हुन्।

दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लु दुई दिने नेपाल भ्रमणमा आएका हुन्। उनले नेपाल भ्रमणमा रहँदा प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्कालगायत उच्च अधिकारीहरुसँग भेटवार्ता गर्ने तय भएको परराष्ट्रमन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस