नागरिकता विधेयक २०७९ पारित भएकोमा गैरआवासीय नेपाली सङ्घले स्वागत गर्यो

सफल खबर संवाददाता

आइतबार, ०८ साउन २०७९, ०७ : ३०
नागरिकता विधेयक २०७९  पारित भएकोमा गैरआवासीय नेपाली सङ्घले स्वागत गर्यो

काठमाडौँ  ।  प्रतिनिधि सभाद्वारा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ परित भएकोमा गैरआवासीय नेपाली सङ्घले स्वागत गरेको छ । सदनले गत शुक्रमबार बहुप्रतिक्षित सो विधेयक पारित गरेको थियो । 

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का कार्यकारी अध्यक्ष कुल आचार्यले विधेयक पारित भएसँगै विश्वभर रहेका नेपालीलाई मातृभूमिसँग जोड्ने र नेपालमा विदेशी लगानी भित्र्याउन सहज हुने बताए । संघले स्थापनाकालदेखि नै गैरआवासीय नेपाली संघले प्रवासी नेपालीसँग रहेको सीप, स्रोत र पूँजी नेपालको हित र उन्नतिमा परिचालन गर्न जोड दिँदै आएको स्मरण गरे । उनले भने, “विधेयक कार्यान्वयनमा आएपछि दोस्रो पुस्तासमेत नेपालसँग कसिलो गरेर जोडिने छन् ।” 

संघका अर्का अध्यक्ष रविना थापाले पनि नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित भएकामा त्यसको स्वागत गरिन् । “हामी गैरआवासीय नेपाली (एनआरएन)हरूले मातृभूमिका लागि गर्नुपर्ने धेरै बाँकी छ । आशा गर्दछु सम्पूर्ण हामी गैरआवासीय नेपाली एक भई जन्मभूमिका लागि जुट्ने छौँ”, उनले भनिन् । 

उक्त विधेयकअनुसार विदेशमा रहेका कुनै पनि नेपालीका बाबु–आमा, बाजे वा बज्यै साविकमा नेपालको नागरिक रहेको प्रमाण भए त्यस्ता व्यक्तिले गैरआवासीय नागरिकता प्राप्त गर्नेछन् । तर, सार्क मुलुकमा रहेका र बसोबास गरेका नागरिकले यस्तो नागरिकता प्राप्त गर्न सक्ने छैनन् ।