आगामी वर्षबाट जनक शिक्षाले सातवटै प्रदेशबाट पुस्तक छाप्‍ने: शिक्षामन्त्री पौडेल

सफल खबर संवाददाता

मंगलबार, ३१ जेठ २०७९, १४ : ०७
आगामी वर्षबाट जनक शिक्षाले सातवटै प्रदेशबाट पुस्तक छाप्‍ने: शिक्षामन्त्री पौडेल

सरकारले आगामी वर्षबाट ७ वटै प्रदेशमा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको कार्यालय स्थापना गरी नयाँ पाठ्यपुस्तक छाप्ने भएको छ। मंगलबार आव २०७९/८० को बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले पुस्तक छपाइलाई सहज बनाउन यस्तो व्यवस्था गर्न लागिएको बताए। 

‘माननीय सदस्यहरूले जनक शिक्षा खारेज गर्नुपर्छ भन्दा दु:ख लागेको छ,यो सरकारको स्वायत्त निकाय हो,बलियो बनाउनु हामी सबैको दायित्व हो,अक्षम छ भने सवल बनाउन सहयोग गर्ने परिमार्जन गर्ने हाम्रो दायित्व छ,त्यसैले अब खारेज होइन ७ वटै प्रदेशमा कार्यालय स्थापना गरिने छ,’उनले भने।

उनले समयमा कागज आपूर्ति नहुँदा र स्थानीय तह निर्वाचनमा जनक शिक्षाका कर्मचारी खटिनुपर्ने भएकाले पुस्तक छपाइमा ढिला भएको बताए। तर,पठनपाठन प्रभावित नभएको जानकारी दिए।उनले भने,‘पहिला नै हामीले केही समस्या हुन्छ की भनेर वैकल्पिक उपाय अपनाएका थियौँ,पढाइमा बाधा नपरोस् भनी पाठ्यसामग्री पहिला नै पठाएका थियौँ।’

प्रतिक्रिया दिनुहोस