अमेरिकी सेनासँग गर्न लागिएको १० बुँदे एसपीपी सम्झौताबारे संसदमा मागियो सरकारको जवाफ

सफल खबर संवाददाता

मंगलबार, ३१ जेठ २०७९, ११ : ४६
अमेरिकी सेनासँग गर्न लागिएको १० बुँदे एसपीपी सम्झौताबारे संसदमा मागियो सरकारको जवाफ

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकासँग गर्न लागिएको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौताबारे सरकारको जवाफ माग गरेका छन् । मंगलवार बसेको प्रतिनिधि सभा बैठकको शुरूमा सभामुखसँग समय लिएर सुवालले यो सम्झौता गर्नमा पूर्ववर्ती एमाले सरकारका मन्त्रीहरू समेत संलग्न रहेको आरोप लगाएका हुन् । 

‘हामीले संसदमा एमसीसी सम्झौता सैन्य मोर्चा भनेर विरोध गरेका थियौं, अमेरिकी सेना कसरी आउँछ भनेर साथीहरूले भन्नुभएको थियो । अहिले सेना बरोबर नेपाल आइरहेको छ । १० बुँदामा सही छाप गराउने तयारी गरेको छ,’ सुवालले भने, ‘नेपाली सेनाको ब्यारेक अमेरिकी सेनाले प्रयोग गर्ने, नेपाललाई समेटेर अमेरिकाले बजेट बनाइसकेको, नेपाली सेनाका गाडी र बायुवान प्रयोग गर्ने र उत्तरी क्षेत्रमा सैन्य अभ्यास गर्ने गरी नेपालका प्रधानसेनापतिको भ्रमणमा सो बुँदामा सही छाप गराइने । देउवालाई सहभागी गराउने कुरा आएको छ, के हो ?’

अमेरिकी सेनासँग नेपाली सेनाले गर्न लागेको सम्झौताबारे संसदमा दैनिक कुरा उठेको छ । सत्तारुढ माओवादीका प्रमुख सचेतक देव गुरुङले अमेरिकासँग घातक सम्झौता गर्न लागिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमण स्थगित गर्न संसदमा माग गरेका थिए । 

अमेरिकासँग हुन लागेको सम्झौतामा एमाले सरकारको पालाका मन्त्रीसमेत संलग्न रहेकोबारे पनि सुवालले संसदमा जवाफ माग गरेका छन् । 

प्रतिक्रिया दिनुहोस