काठमडौं । नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले आफ्नो गृहपालिका जित्न सफल भएका छन् । खनालको गृहजिल्ला इलामको सूर्योदय नगरपालिकामा नेकपा (एकीकृत समाजवादी) विजयी भयो ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार गठबन्धनको सहयोगमा नेकपा(एस) उमेदवार रनबहादुर राई विजयी भए । उनले १२ हजार ४३१ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका काजीमान कागतेले १० हजार ५७९ मत पाए ।
राई दोस्रो कार्यकालका लागि नगरप्रमुखमा निर्वाचित भएका हुन् । उनी ०७४ सालमा भएको निर्वाचनमा नेकपा (एमाले)बाट विजयी भएका थिए । तर, एमाले विभाजन भएपश्चात् राई झलनाथ खनालसँगै नेकपा(एस)मा लागेका थिए ।
मेयरमा पराजित एमालेका काजिमान कागते निर्वतमान प्रदेशसभा सांसद हुन् । उनी ०७४ सालमा भएको प्रदेशसभा निर्वाचनबाट नेकपा एमालेबाट विजयी भएका थिए । उपप्रमुखमा कांग्रेसका दुर्गा बराल विजयी भए । बराल गठबन्धनको सहयोगमा विजयी भएका हुन् । उनी ०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा काजिमान कागतेसँग पराजित भएका थिए ।
उपप्रमुखमा विजयी बरालले ११ हजार ८५४ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी दुर्गादेवी भट्टराईले ९ हजार १२२ मत पाइन् । भट्टराई निर्वतमान नगरउपप्रमुख हुन् । उनी ०७४ सालमा भएको निर्वाचनमा एमालेबाट उपप्रमुख विजयी भएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ जेठ २०७९, १३ : १३
लेखकबाट थप