मुग्लिङ-पोखरा सडकः पश्चिम खण्डबाट विस्तारको काम सुरु

रासस

सोमबार, ०२ जेठ २०७९, १५ : १०
मुग्लिङ-पोखरा सडकः पश्चिम खण्डबाट विस्तारको काम सुरु

दमौली । पृथ्वीराजमार्गको मुग्लिङ-पोखरा सडक विस्तारकार्यअन्तर्गत तनहुँको पश्चिम खण्डबाट काम सुरु भएको छ । राजमार्ग विस्तारकार्यका लागि जामुने–पोखरा खण्डअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित कोत्रेबाट विस्तारको काम सुरु भएको हो । 

राजमार्गलाई चार लेनको बनाउन तनहुँमा दुई खण्ड विभाजन गरी कामलाई अगाडि बढाइएको छ । पश्चिम खण्डमा सडक चौँडा बनाउने कामको पश्चिम खण्डका आयोजना प्रमुख अमितकुमार श्रेष्ठले शुभारम्भ गर्नुभएको छ । पश्चिम (जामुने–पोखरा) खण्ड निर्माणकार्यको जिम्मा यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सन कम्पनीले गर्ने भएको हो । शुक्लागण्डकीस्थित दुलेगौँडा कोत्रे खण्डमा सडक भत्किएर खाल्डाखुल्डी भएपछि  हलेदी, गाछेपानीलगायतका स्थानीयले सोही स्थानबाट कामको सुरुवात हुनुपर्ने माग राख्दै आन्दोलन गरेका थिए । 

आयोजनाको पूर्वीखण्ड आँबुखैरेनी–जामुनेतर्फ पनि सडक चौँडा बनाउने काम भइरहेको छ । पूर्वीखण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । सडक विस्तारकार्यका लागि हाल राजमार्ग आसपासका रुख काटिएको छ । हालसम्म पूर्वीखण्डमा तीन हजार १४ रुख कटान भइसकेका छन् भने पश्चिम खण्डमा दुई हजार २८० रुख कटान भइसकेको छ । विसं २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क ९एडीबी०को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । ८० किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ । 

पूर्वीखण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लगाइएको छ । सडक चार लेनको निर्माण हुँदा सडकसीमा दुईतर्फी २५/२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्ने भएको छ । आयोजनाको डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौँडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौँडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ । 

सडक चार लेनको निर्माण हुँदा हाल भइरहेको पुलको स्थानमा नयाँ पुल बन्नेछ । आँबुखैरेनीदेखि पोखरासम्मको ८० किलोमिटर दूरीमा सडक चार लेन भएसँगै ३१ नयाँ मोटरेबल पुल निर्माण गरिने योजना छ । आँबुखैरेनीदेखि मुग्लिन खण्डको आठ किलोमिटर दूरीको भने डिजाईन हुँदैछ । यो खण्डमा हाल पृथ्वीराजमार्गको भएको स्थानमा मस्र्याङ्दी जलविद्युत गृह रहेको छ । जलविद्युत गृह र सडक फराकिलो बनाउन सकस हुने भएपछि सडकको रेखाङ्कन नै परिवर्तन गर्नुपरेको जनाइएको छ ।

चालु आर्थिक वर्षमा सङ्घीय सरकारले मुग्लिङ–पोखरा चार लेन सडक योजनाका लागि रु चार अर्ब ४३ करोड ४३ लाख बजेट विनियोजन गरेको छ । गत आर्थिक वर्षमा रु दुई अर्ब नौ करोड ५४ लाख चार हजार विनियोजन गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस