रहेनन् निर्देशक लामा

सफल खबर संवाददाता

सोमबार, ०२ जेठ २०७९, १२ : ४५
रहेनन् निर्देशक लामा

काठमाडौं ।नेपाली फिल्म आदर्श नारीका निर्देशक हेम लामाको निधन भएको छ । 

अभिनेता तथा पाइलट विजय लामाका पितासमेत रहेका हेमको आइतबार मनमोहन अस्पतालमा निधन भएको हो ।दुई हप्तादेखि काठमाडौँस्थित मनमोहन अस्पतालको सिसियूमा उपचारार्थ उनको आइतबार दिउँसो निधन भएको हो ।

आज सोमबार लामाको पार्थिव शरीरलाई उनकै निवास बालुवाटारमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ। उनको बौद्ध धर्मअनुसार स्वयम्भूनाथ घाटमा दिउँसो ३ बजे अन्त्येष्टि गरिने परिवार स्रोतले जनाएको छ ।

लामाले पहिलो पटक फिल्म ‘आदर्श नारी’ को निर्माण तथा निर्देशन गरेका थिए । यो फिल्मले थुप्रै कलाकारलाई ब्रेक दिएको थियो ।काठमाडौं ।उनका छोरा विजय लामासँगै यही फिल्मबाट अभिनेत्री सन्नी रौनियार, हनी रौनियार, अंशुमाला शाही, मोहन निरौला, उज्जल घिमिरे, संगीतकार मदन परियारले आफ्नो करियरको सुरुवात गरेका थिए ।

फिल्ममा लामाकै कथा, पटकथा तथा संवाद रहेको थियो । २०७७ सालमा नेपाल चलचित्र निर्देशक समाजले लामालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको थियो ।

विजय लामाले पितालाई सम्झँदै फेसबुकमा लेखेका छन्, ‘बाउ तिमी बिना मलाई बस्ने बानी छैन, तिम्रो यादले निक्कै सताउने छ तर मलाई विश्वास छ तिमी जहाँ छौ खुशी छौ र तिम्रो खुशी नै मेरो खुशी हुनेछ ।’

प्रतिक्रिया दिनुहोस