महानगरका वागी उम्मेदवारलाई कांँग्रेसीकै साथ घट्दो

‘पराजित र विद्रोही असन्तुष्ट नेताहरुको साथ, महानगर विकासको योजनानै आएन’

सफल खबर संवाददाता

मंगलबार, २७ बैशाख २०७९, १४ : ५४
महानगरका वागी उम्मेदवारलाई कांँग्रेसीकै साथ घट्दो

चितवन । नेपाली कांग्रेसमा रहेर सधैँ विद्रोह र असहयोग गर्दै आएका चितवनका नेताहरु भरतपुर महानगरको वागी उम्मेदवार जगन्नाथ पौडेललाई सघाउने समूहमा देखिएका छन् । पौडेललाई साथ दिनेमा केही कांँग्रेसको महाधिवेसन प्रतिनिधि, जिल्ला समितिमा पराजित उम्मेदवारहरु छन् । भरतपुर–७ बाटै महाधिवेशन प्रतिनिधिमा पराजित भएपछि जिल्ला सभापति बन्ने सपना पुरा नभएपछि पौडेल असन्तुष्ट बन्दै आएका थिए ।

पौडेलको पक्षमा खुलेर लागेका चितवन कांग्रेसका अधिकाँस नेता, कार्यकर्ताहरु मतदानको दिन नजिकिदै गर्दा गठबन्धनकै  चुनावी अभियानमा सक्रिय बन्न थालेका छन् ।कांग्रेस चितवनका पूर्व सभापति कृष्णलाल सापकोटा २०५१ मा कांग्रेसका गंगाधर लम्साल ३ नम्बर क्षेत्रबाट चुनाव जित्दा समेत विद्रोह गरेर बागी उम्मेदवार बन्न खोज्दा तरुण दलले रोकेको थियो । सापकोटाले केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ विरुद्ध समेत संसदीय चुनावमा बागी उम्मेदवारी दिन लागेपछि पार्टीले उनलाई आमन्त्रीत केन्द्रीय सदस्य बनाएर थमथमाएको थियो । पौडेलको पक्षमा उभिएका भीमबहादुर श्रेष्ठ पुराना कम्युनिष्ट नेता हुन् । 

उनी २०३८ मा नेकपा (प्रजातन्त्रवादी) का तर्फबाट सांसद बनेका थिए । पौडेलको पक्षमा लागेका शम्भु अर्याल, महेन्द्रराज श्रेष्ठ, सूर्य बस्नेत, तारा पौडेल महाधिवेशन प्रतिनिधिमै हारेपनि कांग्रेस विरुद्धको मोर्चामा उभिएका छन । चितवनको सचिवमा पराजित आनन्द राउत, दिपक अधिकारी, जिल्ला सदस्यमा पराजित धुर्व मिश्र, इश्वरी कँडेल नेता हुन् ।

कांग्रेसभित्र निर्वाचित हुन नसकेपछि निर्वाचन जिल्ला समिति विरुद्धको मोर्चामा लागेका केही नेताहरुको साथ मेयर उम्मेदवारलाई पौडेललाई भएको देखिन्छ । पौडेललाई साथ दिंँदै आएकी मिना खरेल २०७४ मा महानगरको उपमेयरको टिकट नदिएपछि निरन्तर कांग्रेसभित्र असन्तुष्ट बन्दै आएकी  थिइन्  । गठबन्धनका उम्मेदवारलाई जिताउन कांग्रेसीहरु लागेपछि पौडेलको पक्षमा लागेका अधिकाँस नेता, कार्यकर्ताले पौडेलको साथ छाड्ने क्रम बढ्दो छ । केही दिन अघि देखि पौडेलको चुनावी कोणसभामा समेत  कांग्रेसीहरुहरुको  संख्या न्यून थिए । पौडेल यस्ता वागी उमेद्वार हुन् जसले  हालसम्म महानगर विकासप्रतिको प्रतिवद्धतापत्र समेत जारी गर्न सकेका छैनन ।