हरेक दुःख सुखमा जनताकै साथमा हुने छु : श्रममन्त्री श्रेष्ठ

रासस

शनिबार, २४ बैशाख २०७९, १८ : ०२
हरेक दुःख सुखमा जनताकै साथमा हुने छु : श्रममन्त्री श्रेष्ठ

काठमाडौ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले हरेक दुःखसुखमा जनताकै साथमा रहने प्रतिबद्धता व्यक्त गरेका छन । तनहुँको भानु नगरपालिका–१० कोटसभामा आज आयोजित चुनावी सभामा श्रममन्त्री श्रेष्ठले आफू जनताकै प्रतिनिधि भएकाले जनताको दुःख, सुख र पीरमर्कामा आफू सदैव जनताकै पक्षमा रहने विश्वास दिलाए । 

श्रममन्त्री श्रेष्ठले जनताकै माया र समर्थनले प्रतिनिधिसभा सदस्य हुँदै मन्त्रीसम्म बनेको उल्लेख गर्दै भने, “मन्त्री भएर तनहुँको इज्जत राख्ने काम गरेको छु ।” मन्त्री श्रेष्ठले जिल्लाको विकासमा कसैलाई पनि भेदभाव नगरी काम गरेको बताए । मन्त्री श्रेष्ठले भानुका खानेपानी, सडक, पूर्वाधार निर्माणका लागि कामहरू भएको बताए । 

सानासाना विकासका योजना वडा र नगरपालिकाले गर्नुपर्ने र ठूला तथा दीर्घकालीन योजनालाई सङ्घीय सरकारले प्राथमिकता दिने मन्त्री श्रेष्ठको भनाइ थियो । नेकपा (एकीकृत समाजवादी) कलम चिह्न लिएर स्थानीय तह निर्वाचनमा होमिएको भन्दै मन्त्री श्रेष्ठले देश विकास र समृद्धिका लागि कलम चिह्नमा मतदान गर्न आग्रह गरे ।

कार्यक्रममा एकीकृत समाजवादीका तर्फबाट उपप्रमुखका उम्मेदवार श्रीराम पौडेलले समृद्ध भानु स् खुसी भानुवासी बनाउने लक्ष्यसहित आफू चुनावी मैदानमा होमिएको बताए । नगरवासीलाई सीपयुक्त बनाउन हरेक वडामा सीप केन्द्र स्थापना गर्ने योजना लिएको पौडेलले बताए ।  
 

प्रतिक्रिया दिनुहोस