एसइई परीक्षामा देखिएको समस्या समाधान हुन्छ : शिक्षामन्त्री पौडेल

रासस

बुधबार, १४ बैशाख २०७९, १२ : ४३
एसइई परीक्षामा देखिएको समस्या समाधान हुन्छ : शिक्षामन्त्री पौडेल

चितवन । शिक्षा तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले माध्यामिक शिक्षा परीक्षा (एसइई) मा देखिएका समस्या छलफलबाट समाधान गर्दै जाने बताएका छन । लक्ष्मी मावि लङ्कुमा सञ्चालित एसइई परीक्षा निरीक्षणपछि आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले एसइई परीक्षामा सामान्य केही समस्या देखिएको बताए । 

उनले भने, “केही प्रश्नपत्रहरुमा शिक्षकहरुको समेत गुनासो आएको छ । यसलाई हामी समीक्षा गर्छौं ।” देशैभर एसइई शान्त रुपमा भइरहेको उनले जानकारी दिए ।  “विद्यार्थीले राम्रै परिणाम ल्याउँछन् ।” कोभिडका कारणले परेको असरलाई शिक्षण तलमाथि नहुने गरी सम्पूर्ण प्रक्रिया अघि बढाएको उनको भनाइ थियो ।

अर्को प्रसङ्गमा बोल्दै उनले चितवनमा निर्माण हुने भनिएको शिक्षक अस्पतालको काम प्रभावकारी तवरले अघि बढेको बताए । कानुनी प्रक्रिया, जग्गा प्राप्ति बजेटको सुनिश्चितता लगायतको काम भइसकेको उनको भनाइ थियो ।

फरक प्रसङ्गमा बोल्दै उनले गठबन्धनले निर्वाचनलाई प्रभावकारी रुपले अगाडि बढाउने बताए। उनले भने, “धेरै ठाउँमा मिलेको छ । नमिलेको ठाउँमा पनि आज, भोलि १६ गतेसम्म मिलाउने गरी तयारी भइरहेको छ ।” बागी उम्मेदवारी दिनु राम्रो संस्कृति नभएको भन्दै उनले जुनसुकै दलभित्र पनि बागी देखा पर्नु र बागीको नाममा बार्गेनिङ गर्नु चाहिँ दलीय प्रणाली निर्वाचन आयोग, लोकतान्त्रिक मूल्यमान्यता र नैतिकताभित्र पर्ने कुरा नभएको बताए । बागी उम्मेदवारहरुलाई आफ्नो दलले तुरुन्त फिर्ता बोलाएर दलहरुको सहमतिका आधारमा तय भएका उम्मेदवारलाई मात्रै राख्नुपर्ने उनको भनाइ छ ।
 

प्रतिक्रिया दिनुहोस