गङ्गादेवी चौधरी साहित्यकला मन्दिरद्वारा पुरस्कार राशिमा व्यापक वृद्धि, तीन स्रष्टा सम्मानित हुँदै

सफल खबर संवाददाता

मंगलबार, १३ बैशाख २०७९, १६ : ३०

काठमाडौं । श्री लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले पुरस्कारको राशि बढाउँदै यस वर्षका लागि तीन सम्मानका लागि स्रष्टाहरुको नाम चयन गरेको छ । 
साहित्यकला मन्दिरले साहित्य, कला, संस्कृतिको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने स्रष्टाहरुलाई विगत केही वर्षदेखि वर्षेनी सम्मान गर्दै आएको छ । बैशाख १२ गते साहित्यकला मन्दिरका अध्यक्ष बसन्त चौधरीको अध्यक्षतामा बसेको पूर्ण बैठकले सर्वसम्मतिबाट सम्मानित र पुरस्कृत हुने स्रष्टाहरुको नाम चयन गरेको हो । 
निर्णयअनुसार साहित्य र संस्कृतिका क्षेत्रमा लामो समयदेखि उल्लेखनीय योगदान पु¥याउँदै आएका तेजेश्वरबाबु ग्वङ्गलाई सरस्वती सम्मान, इतिहास–अनुसन्धानमा लेखन तथा प्राध्यापनद्वारा विशिष्ट योगदान पु¥याउँदै आएका प्रा.डा. त्रिरत्न मानन्धरलाई इतिहास शिरोमणि बाबुराम आचार्य शोधसम्मान तथा नेपाली वाद्यवादनका क्षेत्रमा अथक योगदान पु¥याउँदै आएका न्हुच्छेबहादुर डंगोललाई नारायण गोपाल सङ्गीत सम्मान प्रदान गरिने भएको छ । 
यसअघि यी सम्मानहरूको राशि ५१ हजार रहेकोमा यस वर्षदेखि उक्त रकम बढाएर १ लाख ५१ हजार पु¥याइएको छ । उक्त सम्मानहरू साहित्यकला मन्दिरको वार्षिकोत्सवको अवसरमा आयोजित स्रष्टासम्मान समारोहमा यही वैशाख २७ गते काठमाडौँमा प्रदान गरिने श्री लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
सम्मानित हुने स्रष्टाहरुको फोटोका लागि तल हेर्नुहोला

 न्हुच्छेबहादुर डंगोल

 तेजेश्वरबाबु ग्वंगः

 प्रा.डा. त्रिरत्न मानन्धर

प्रतिक्रिया दिनुहोस