हिंसाले समाज दूषित छः प्रदेश प्रमुख शेरचन

सफल खबर संवाददाता

शनिबार, १० बैशाख २०७९, १५ : ४५
हिंसाले समाज दूषित छः प्रदेश प्रमुख शेरचन

लुम्बिनी। लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले महिला र बालबालिकामाथि भएको हिंसाले समाजलाई दूषित बनाएको बताउँदै यसविरुद्ध पत्रकार महिलाहरु अभियानका रुपमा लाग्नुपर्ने  बताएका छन् ।  

संचारिका समूह लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै शेरचनले समाजमा भएका लैंगिक हिंसा र असमानता विरुद्ध निरन्तर समाचार लेख्न सञ्चारकर्मीलाई सुझाब दिए ।

पत्रकार महिलाले फरक  खालका समस्या भोग्नुपर्ने र व्यवसायमा निरन्तरता दिन समस्या पर्ने भएकाले उनीहरुको सीप र क्षमता विकासमा राज्यले लगानी गर्नुपर्ने पनि उनले बताए ।

कार्यक्रममा प्रदेश कानुन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्तीले सामाजिक न्याय, लैंगिक र महिलामैत्री समाज निर्माणका लागि संचारमा महिलाको दरिलो उपस्थितिहुनुपर्ने  बताइन् ।  उनले संविधान अनुसार शासन सत्तादेखि सरकारका हरेक संरचनामा महिलाको संख्या बढाउन, महिला मैत्रीनीति कार्यक्रम ल्याउन पत्रकार महिलाहरुले संचारबाट वकालत गर्न समेत आग्रह गरिन् ।

लुम्बिनी  प्रदेश उपसभामुख कृष्णी थारुले संविधानले महिलालाई दिएको अधिकार समेत खोस्ने काम भएको बताउँदै त्यसका विरुद्ध आवाज उठाउन आग्रह गरिन् ।उनले गठबन्धनका नाममा स्थानीय तहमा प्रमुख र उपप्रमुख मध्ये एक महिला हुने अवसर खोसिन लागेको बताउदै रोक्न पत्रकारहरुले भूमिका खेल्नुपर्ने बताइन् ।

कार्यक्रमा कानुन महिला बालबालिकातथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव राजेन्द्र थापा,  संचारिका समूह नेपालकी पूर्व अध्यक्ष बबिता बस्नेत, पत्रकार इन्दिरा अर्यालले रेडियोमा लैंगिकताको विषय र त्यसको उठानबारे सहजीकरण गरेका थिए ।
 

प्रतिक्रिया दिनुहोस