काठमाडौं। स्थानीय तहको निर्वाचनका लागि प्रदेश १ का १३७ वटा पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापनाको हुँदैछ ।
विराटनगरस्थित प्रदेश १ निर्वाचन कार्यालयका अनुसार प्रदेश राजधानी विराटनगरमा मुख्यनिर्वाचन अधिकृतको कार्यालयसहित सबै पालिकामा बिहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ ।कार्यालयका प्रमुख निर्वाचन अधिकृत लेवन काश्यप अधिकारीका अनुसार दिउँसो १ बजे सबै कार्यालय स्थापना गरिने र निर्वाचनसँग आवश्यक कार्यहरु सोही कार्यालयबाट हुनेछ। यसक्रममा विराटनगरका लागि रेडक्रसको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय रहने उनले जानकारी दिए।
त्यसैगरि, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले निर्वाचन अधिकृतको कार्यालयदेखि मतदानस्थलसम्म सुरक्षा निकायको उपस्थिति रहने जानकारी दिए। मुख्य निर्वाचन अधिकृतको कार्यालयदेखि अन्य पालिकामा स्थापना हुने कार्यालयको सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरी बलले गर्ने प्रजिअ दाहालले बताए।प्रजिअ दाहालले निर्वाचन अधिृकतको कार्यालयका लागि भवन, सञ्चार सुविधा, सुरक्षाका लागि राखिने सिसिटिभी क्यामरासमेत जडान, फर्निचरको सुविधा उपलब्ध हुने जानकारी दिए।
निर्वाचनलाई स्वतन्त्र र भयरहित सम्पन्न गराउन राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालासँग समन्वय तथा अन्तरक्रिया गर्ने, सुरक्षालाई लिएर प्रजिअसँग समन्वय गर्ने, निर्वाचन आचारसंहिताको पालना गराउने, अनुगमन गरेर मतदानस्थलको अवस्थाका बारेमा जानकारी लिने लगायतका जिम्मेवारी मुख्य तथा निर्वाचन अधिकृतको हुने बताइएको छ।
मतदाता नामावली प्रकाशन गर्ने, उम्मेदवारको मनोनयन दर्ता, छानबिन र स्वीकृत गर्ने तथा निर्वाचनसँग सम्बन्धित काम समेत सोही पदाधिकारीको हुनेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ बैशाख २०७९, ११ : ३०
लेखकबाट थप