विवेकशील साझाबाट ललितपुर महानगरको मेयरमा उज्वलकृष्ण उठ्ने

सफल खबर संवाददाता

मंगलबार, ०६ बैशाख २०७९, ११ : ४५
विवेकशील साझाबाट ललितपुर महानगरको मेयरमा उज्वलकृष्ण उठ्ने

काठमाडौं ।विवेकशील साझा पार्टीले ललितपुर महानगरपालिकाको मेयरमा उज्वलकृष्ण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 

३० वैशाखमा हुने स्थानीय तहको चुनावमा ललितपुर महानगरपालिकाको मेयरमा उज्वलकृष्णलाई उठाउने निर्णय भएको प्रवक्ता शरदराज पाठकले जानकारी दिए । उज्वलकृष्ण अघिल्लो पटक प्रतिनिधिसभाको चुनावमा ललितपुर क्षेत्र नम्बर ३ बाट लडेका थिए ।

प्रवक्ता पाठकका अनुसार आज दिउँसो २ बजे पाटन दरबारस्थित भीमसेन मन्दिर क्षेत्रमा उम्मेदवारी घोषणा कार्यक्रम राखिएको छ । यसअघिको स्थानीय तहको चुनावमा साझा पार्टीबाट रमेश महर्जन ललितपुरको मेयरमा लडेका थिए । महर्जनले १३ हजार चार सय ५८ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका थिए ।

उक्त चुनावबाट मेयरमा कांग्रेसका चिरिबाबु महर्जन २४ हजार ६ सय ४२ मतका साथ विजयी भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण ब्याञ्जनकारले २४ हजार ३ सय १६ मत पाएका थिए । एमालेले यसपटक पनि हरिकृष्णलाई नै उम्मेदवार बनाउने निर्णय गरिसकेको छ भने कांग्रेसले उम्मेदवार टुंगाउन सकेको छैन । 

प्रतिक्रिया दिनुहोस