विवेकशील साझाले टोखा नगरपालिकाको मेयरमा सिटौलालाई उठाउने

सफल खबर संवाददाता

मंगलबार, ०६ बैशाख २०७९, ११ : ४१
विवेकशील साझाले टोखा नगरपालिकाको मेयरमा सिटौलालाई उठाउने

काठमाडौं । विवेकशील साझा पार्टीले टोखा नगरपालिकाको मेयरमा लक्ष्मणराज सिटौलालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 

३० वैशाखमा हुने स्थानीय तहको चुनावमा टोखा नगरपालिकाको मेयरमा पार्टीका केन्द्रीय सदस्य समेत रहेका सिटौलालाई उठाउने निर्णय भएको विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले जानकारी दिए ।

सिटौलाको लामो प्रशासनिक दक्षता, सिर्जनात्मक क्षमता एवं राजनीतिक, सामाजिक र आर्थिक सुझबुझलाई राष्ट्रहितमा थप उपयोगबाट वैकल्पिक राजनीतिलाई स्थापित गर्न थप बल पुग्ने विश्वासका साथ विवेकशील साझा पार्टीले टोखा नगरपालिकामा मेयरमा उठाउने निर्णयमा पुगेको पाठकले बताए ।

सिटौलाले नेपाल वायुसेवा निगममा ३३ वर्ष प्रशासनिक काम गरी उपसचिवबाट दुई वर्षअघि राजीनामा दिएका थिए ।  ०४२ सालदेखि टोखा नगरपालिका-११ मा स्थायी बसोबास गर्दै आएका सिटौला हाल स्वतन्त्र लेखन, अनुसन्धान, पत्रकारिता, आन्तरिक पर्यटन प्रवर्द्धनमा सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस