निर्धारित समयमा नै स्थानीय तहको निर्वाचन हुन्छः प्रधानमन्त्री देउवा

रासस

शनिबार, १२ चैत्र २०७८, १५ : २५
निर्धारित समयमा नै स्थानीय तहको निर्वाचन हुन्छः प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएको समयमा नै स्थानीय तहको निर्वाचन हुने बताएका छन । ललितपुरको पाटनस्थित पुनःनिर्माण गरी बनाइएको भिमसेन मन्दिरको उद्घाटन गर्दै उनले तोकिएको समयमै स्थानीय तहको निर्वाचन सम्पन्न गराउनका लागि सरकारले आवश्यक तयारी थालेको बताए ।

प्रधानमन्त्री देउवाले अहिलेको सरकारलाई तीनै तहको निर्वाचन गर्ने कार्यभारसमेत रहेको उल्लेख गर्दै भयरहित, स्वच्छ निर्वाचन गर्नु अहिलेको आवश्यकता र सरकारको दायित्वसमेत रहेको बताए । उनले हामी आफ्नो सम्पदा आफैँ बनाउन सक्षम छौं भन्दै धार्मिक सम्पदा निर्माणमा नीजि क्षेत्रको सहयोग पनि अपरिहार्य भएको उल्लेख गरे। 

प्रधानमन्त्री देउवाले स्थानीय तहलाई विकासको काममा जिम्मेवारी दिन आवश्यक रहेको उल्लेख गर्दै स्थानीय सरकारद्वारा निर्माण भएका विकास सम्बन्धी अधिकांश काम राम्रो, छिटो र गुणस्तरी रहेको बताए । उनले भने, “स्थानीय तहलाई नै विकासको काममा जिम्मेवारी दिन अतिआवश्यक छ । अहिलेसम्म राम्रो काम भएको पनि छ । सबै ठाउँमा त भन्न सकिँदैन । ऐतिहासिक धाम र सांस्कृतिक दृष्टिकोणले भरिपूर्ण रहेका ललितपुर कला संस्कृतिको क्षेत्रले चिनिन्छ ।”

प्रधानमन्त्री देउवाले ललितपुर महानगरपालिकामा भएको विकास राष्ट्रियस्तरमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत नेपाल र नेपालीको परिचय फराकिलो बनाउन सहयोग पुग्ने विश्वास लिएको बताउँदै भिमसेन मन्दिर पनि निजी क्षेत्रको सहयोगमामा निर्माण भएकाले अन्य मठमन्दिर पनि नेपाली मौलिक झल्कने खालको बनाउनुपर्नेमा जोड दिए। 

ललितपुर महानगरपालिकामा प्रमुख चिरीबाबु महर्जनले महानगरभित्रका धार्मिक सम्पदाको पुनःनिर्माणलाई महानगरपालिकाले तीव्रताका साथ सम्पन्न गरेको उल्लेख गर्दै स्थानीय सरकारले मुलुकको विकासलाई अगाडि बढाउन सहयोग पु¥याएको बताए । 

नेपाल उद्योग बाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले नीजि क्षेत्र व्यापार व्यवसायमा मात्र नभई धार्मिक सम्पदाको निर्माण गर्नुपर्दछ भन्ने मान्यता राखेको बताए । पाटन दरबार क्षेत्रमा रहेको भीमसेन मन्दिरको पुनःनिर्माण ललितपुर उद्योग बाणिज्य सङ्घको अगुवाइमा भएको हो र यसमा ललितपुर महानगरपालिकाले पनि आर्थिक सहयोग गरेको थियो । ललितपुर उद्योग बाणिज्य सङ्घका अध्यक्ष मनोजबहादुर न्याछयोंले २०७२ सालको भूकम्पले क्षति पुगेको मन्दिर पाँच वर्ष लगाएर पहिलेकै शैलीमा निर्माण गरिएको जानकारी दिए । 

उनका अनुसार करिब रु चार करोड ९७ लाखको लागतमा निर्माण गरिएको मन्दिर महानगपालिकाले रु एक करोड, एभरेष्ट बैक र इन्भेष्टेमेन्ट बैकले रु एक÷एक करोड तथा स्थानीय श्रमदानमा निर्माण गरिएको हो । यो मन्दिर झण्डै तीन सय वर्ष अघि श्रीनिवास मल्लको पालामा निर्माण भएको बताइएको छ । 
 

प्रतिक्रिया दिनुहोस