पल शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा मुद्दा, १४ वर्ष कैद र चार लाख जरिबाना माग

सफल खबर संवाददाता

विहीबार, ०३ चैत्र २०७८, २२ : ०६
पल शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा मुद्दा, १४ वर्ष कैद र चार लाख जरिबाना माग

नवलपुर । अभिनेता पल शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। नाबालिग गायिकाले दिएको जाहेरीका आधारमा अनुसन्धान सकेर  बिहीबार सरकारी वकिलको कार्यालयले शाहविरुद्ध मुद्दा दर्ता गरेको हो। नवलपुरमा चैत ६ गते भित्रमा मुद्दा दर्ता गर्नै पर्ने समयसीमा थियो। घटना भएको एक वर्ष पूरा हुने भएपछि बिहीबार नै मुद्दा दर्ता भएको हो।

उनलाई हदैसम्मको सजाय माग गरिएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ। पीडितलाई क्षतिपूर्ति भराउन पनि माग गरिएको  जिल्ला सरकारी वकिल कार्यालयका सहायक न्यायाधिवक्ता तथा सूचना अधिकारी डालबहादुर नेपालीले जानकारी दिए।

यसैगरी बलात्कारको अभियोगमा १२ देखि १४ वर्ष कैद माग गरिएको छ। यौन हिंसामा ४ लाख रुपैयाँ क्षतिपूर्ति मागसमेत गरिएको छ। नाबालिग बलात्कारमा १२ देखि १४ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। पीडित नाबालिग १६ वर्ष मुनिको भएको पुष्टि भएको प्रहरीले जनाएको छ। उनी १५ वर्ष ८ महिना ४ दिनको मात्रै भएको अभियोजन पत्रमा उल्लेख छ।

पीडितको शारीरिक परीक्षण, होटलमा बसेको दर्ता फाइल र होटल सञ्चालकको बयानबाट बलात्कार पुष्टि भएको दाबि गरिएको छ। उनीविरुद्ध तनहुँमा पनि जाहेरी परेको छ। 
 

प्रतिक्रिया दिनुहोस