नोबेलका विद्यार्थीलाई एक साताभित्र पढ्न सक्ने वातावरण बनाउन संसदीय समितिको निर्देशन

सफल खबर संवाददाता

सोमबार, २३ फागुन २०७८, १५ : ३९
नोबेलका विद्यार्थीलाई एक साताभित्र पढ्न सक्ने वातावरण बनाउन संसदीय समितिको निर्देशन

काठमाडौं । नोबेल मेडिकल कलेज, विराटनगरका अनसनरत १० विद्यार्थीहरूलाई पढ्न सक्ने वातावरण बनाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

आज सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले २५ गतेभित्र वा ढिलोमा आगामी एक हप्ताभित्र विद्यार्थीहरुको समस्या समाधान गरेर उनीहरुलाई पढ्नसक्ने वातावरण बनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिएको हो ।

समितिको निर्देशन सुनाउँदै सभापति जयपुरी घर्तीले आगामी तीन महिना कलेजले अतिरिक्त कक्षा सञ्चालन गरेर भए पनि विद्यार्थीहरूको कोर्ष पूरा गरिदिनुपर्ने बताइन् । विद्यार्थीहरू पढ्न छोडेर अनसन बस्ने हदसम्म कलेजले पुर्‍याएको भन्दै तत्काल समस्या समाधानका लागि समितिले निर्देशन दिएको उनको भनाइ छ ।

सभापति घर्तीले भनिन्, ‘विद्यार्थीहरूलाई अतिरिक्त क्लासको व्यवस्था गरेर छुटेको कोर्ष पूरा गराउनुपर्छ । तीन महिना पढाउनु पर्छ भन्ने शर्तबाट अघि बढ्नुभयो भने बच्चाबच्ची पढ्ने स्थिति होला । आफू पढ्नै नचाहेर, जानै नचाहेको भन्ने तर्क पनि हिजोदेखि मैले सुनिरहेको छु । बच्चाबच्ची त्यहाँ पढ्न नसक्ने वातावरण कसरी सिर्जना भयो, भन्ने कुरा, अतिरिक्त फी लियो । होस्टेल अनिवार्य बनाइदियो । यो कारणले गर्दा उनीहरुलाई टर्चर भयो । त्यसकारण उनीहरु यो हदसम्म आइपुगे ।’

सभापति घर्तीले हरेक मेडिकल कलेजले चिकित्सा शिक्षा ऐनलाई कार्यान्वयन गरेर विद्यार्थीको भविष्यलाई उज्यालो बनाउनुपर्ने जोड दिइन् ।

प्रतिक्रिया दिनुहोस