नेपाल बारको नेतृत्वका लागि आज मनोनयन दर्ता

सफल खबर संवाददाता

सोमबार, २३ फागुन २०७८, १२ : ५७
नेपाल बारको नेतृत्वका लागि आज मनोनयन दर्ता

काठमाडौं । नेपाल बार एसोसिएसनको निर्वाचन अन्तर्गत आज (सोमबार) उम्मेदवारहरुको मनोनयन दर्ता गरिँदैछ ।

चैत १९ गते हुने निर्वाचनका लागि बारले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेद्वार मनोनयनको समय तोकेको छ । निर्वाचनका लागि गठबन्धन र एमाले समर्थितको अलग कलग प्यानल दर्ता हुने भएको छ ।

यद्यपि, अध्यक्षको उममेदवार को हुन्छ भन्ने अझै टुंगो भइसकेको छैन । गठबन्धनमा कांग्रेस समर्थित प्रजातान्त्रिक कानून व्यवसायी संघ, डीएलएको नेतृत्वमा चुनावमा जाने सहमति भने भएको छ । उम्मेदवारको पहिलो नामावली आजै प्रकाशन गर्ने र दावी विरोध समय मंगलवार दिउँसो २ बजेसम्मका लागि तोकिएको छ ।

उम्मेद्वारको अन्तिम नामावली भने फागुन २५ गते प्रकाशन गर्ने नेपाल बारको सूचनामा उल्लेख छ । देशभरका ३५ मतदान केन्द्रमा मतदानको व्यवस्था गरिएको छ । एक अध्यक्ष, ८ उपाध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष र १४ सदस्य छनोटका लागि निर्वाचन हुन लागेको हो ।

यसैबीच, निर्वाचन समितिले अध्यक्षका लागि ५० हजार रुपैयाँ मनोनयन शुल्क तोकेको छ ।उपाध्यक्ष, महासचिव र कोषाध्यक्षले ३५/३५ हजार तथा सदस्यका लागि २५ हजार रुपैयाँ मनोनयन शुल्क तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस